Monday, January 24, 2011

पुनर्बिमा कम्पनीमा लगानी गर्न बैंकहरू तयार

काठमाडौं, ९ माघ

पुनर्बिमा कम्पनी स्थापना भए लगानी गर्न बैंक तथा वित्तीय संस्था तयार भएका छन् । सरकारले आकस्मिक बिमाकोषलाई पुनर्बिमा कम्पनीका रूपमा विकास गर्न नयाँ लगानीकर्ता खोजिरहेका बेला बैंकहरू लगानीका लागि तयार देखिएका हुन् । यसअघि पुनर्बिमा कम्पनीमा लगानी गर्न बिमा कम्पनीमात्रै अघि सरेका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष शशिन जोशीले स्वतन्त्र व्यवस्थापनसहितको पुनर्बिमा कम्पनी स्थापना गर्न सरकार सहमत भए बैंकहरू लगानी गर्न सैद्धान्तिक रूपमा तयार रहेको बताए । पुनर्बिमा लगानी गरिसकेको विदेशी कम्पनीको समेत संलग्नता भए बैंकहरू अझै आकर्षित हुने उनको भनाइ छ ।

शुक्रबार बिमा समितिमा पुनर्बिमा कम्पनी स्थापनाबारे भएको छलफलमा जोशीले यस्तो बताएका थिए । बैठकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा सर्भेयर संघ, बिमा अभिकर्ता संघलगायतका प्रतिनिधि सहभागी थिए । समितिले बिहीबार जीवन बिमा कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत तथा मंगलबार निर्जीवन बिमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको थियो ।

डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष झपट बोहराले सर्वसाधारणमा सेयर छुट्ट्याइए बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न अझै सजिलो हुने बताए । “सर्वसाधारणलाई सेयर नछुट्ट्याएको अवस्थामा विशेष व्यवस्थाद्वारा लगानी गर्न बाटो खोल्नुपर्छ,” उनको सुझाव छ, “बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई सेयर जारी नगर्ने कम्पनीमा लगानी गर्दा शतप्रतिशत खराब कर्जाबापत व्यवस्था गर्ने राष्ट्र बैंकको नीतिले अप्ठ्यारो पर्छ ।”

आकस्मिक बिमा कोषलाई कम्पनीमा परिणत गर्ने र पुनर्बिमा कम्पनीको रूपमा स्थापना गर्ने प्रक्रियाका बारेमा प्रतिवेदन तयार गर्न १५ दिनअघि गठित टोलीलाई शुक्रबारदेखि एक महिना समय दिइएको छ ।

पुनर्बिमा कम्पनीका सम्बन्धमा अध्ययन गर्न सरकारले अर्थमन्त्रालयका सहसचिव तथा बिमा समितिका सञ्चालक विष्णुप्रसाद लम्सालको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको थियो । समितिमा अर्थका सहसचिव तथा आकस्मिक बिमा कोषका अध्यक्ष राजीव गौतम, नेपाल बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे र कोषका निर्देशक राधेश्याम गोर्खाली सदस्य छन् । पुनर्बिमा कम्पनी स्थापनामा अर्थमन्त्री सुरेन्द्र पाण्डेले विशेष चासो राखेकाले प्रक्रिया सहज रूपले अघि बढेको बताइएको छ ।

बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीका अनुसार अध्ययन टोलीले कम्पनीको प्रबन्धपत्र, नियमावली तथा व्यवसायीका योजना, प्रस्तावित संस्थाको संरचना, जनशक्ति आवश्यकताबारे सुझाव दिनेछ ।

कार्यदलले दिएको प्रतिवेदनका आधारमा कम्पनीको स्वरूप तयार हुनेछ । समितिले पुनर्बिमा कम्पनीका सम्भावित लगानीकर्ताका रूपमा सरकार, बिमा कम्पनी, बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल अघि बढाएको छ ।

कम्पनीको संरचनाबारे कम्तीमा दुई वटा प्रारूप तयार हुने केसीले बताए । सर्वसाधारण लगानीकर्तालाई सेयर नछुट्ट्याउने तर पब्लिक लिमिटेड कम्पनीहरू लगानीकर्ताका रूपमा रहने तथा कम्पनीहरूको सहभागितासँगै सर्वसाधारणलाई पनि सेयर छुट्ट्याउने गरी प्रारुप तयार गरिने भएको छ । त्यसका लागि यसै साता टोलीले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ ।

आकस्मिक बिमा कोष खास जोखिम समूहअन्तर्गतको दायित्व निर्वाह गर्ने उद्देश्यले सरकार र बिमा कम्पनी मिलेर खोलिएको संस्था हो । बिमक (बिमा कम्पनी) ले आफ्नो पक्षको जोखिम धारण गरी बाँकी जोखिमको पुनर्बिमा गराउनुपर्छ । विगत लामो समयदेखि पुनर्बिमा कम्पनीबारे बजेट बक्तव्यमा कुरा उठाइए पनि कार्यान्वयन प्रक्रियामा समस्या देखिँदै आएको थियो ।

हाल पुनर्बिमाका लागि वार्षिक ३ अर्ब रुपैयाँ बिदेसिने गरेको छ । त्यसमध्ये करिब ४५ प्रतिशत दाबी भुक्तानी र पुनर्बिमा कमिसन गरी स्वदेशमा फिर्ता आउँछ । समितिका अनुसार पाँच वर्षको तथ्यांकअनुसार औसतमा दाबी र कमिसनपछि वार्षिक करिब ८० करोड रुपैयाँ पुनर्बिमाका लागि बाहिरिने गरेको छ ।

“स्वदेशमै पुनर्बिमा कम्पनी भए सानातिना जोखिम यहीँ मिलाउन सकिन्छ,” केसीले भने, “वैदेशिक रोजगार बिमा तथा तेस्रो पक्ष बिमाका लागि पुनर्बिमा गर्न रकम बाहिर पठाउनु पर्दैन ।” हवाइ बिमाजस्ता क्षेत्रका पुनर्बिमाका लागि मात्र रकम पठाउँदा धेरै रकम नबाहिरिने उनको भनाइ छ ।

सरकार पनि कम्पनीमा सरकारी स्वामित्व बढी बनाउने पक्षमा नभएको केसीले बताए । उनका अनुसार सरकार हाल आकस्मिक बिमा कोषमा भएको रकमलाई मात्र पुँजीका रूपमा उपयोग गर्न चाहिरहेको छ । “सरोकारवालाहरू नआएको अवस्थामा मात्र सरकार अरु लगानी थप्न चाहन्छ,” उनले भने ।

१० करोड बीउ पुँजी रहेको कोषमा अहिले ९२ करोड रुपैयाँ छ । सुरुमा अर्थमन्त्रालयले ५ करोड र निर्जीबन बिमा कम्पनीले ५ करोड रुपैयाँ लगानी गरेका थिए । सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानसहित मुलुकमा २५ बिमा कम्पनी सञ्चालनमा छन् ।

http://www.karobardaily.com/news/4380

No comments:

Post a Comment