Monday, January 24, 2011

निर्जीवन बीमाशुल्क दर आधा

माघ ९, काठमाडौं । बीमा समितिले निर्जीवन बीमाअर्न्तर्गतका अग्नि बीमा र मोटर बीमासम्बन्धी विभिन्न शीर्षकका बीमाशुल्क दर ३५ देखि ५० प्रतिशतसम्म घटाएको छ । बीमक सङ्घको समेत प्रतिनिधित्व रहेको 'बीमादर सल्लाहकार समिति'को सिफारिशमा समितिले बीमाशुल्क दरमा यस्तो भारी कटौती गरेको हो ।

घटाइएको बीमाशुल्क दर कायम गर्न बीमा समितिले सम्बन्धित कम्पनीहरूलाई बिहीवार नै निर्देशन दिइसकेको छ । 'नियामकको निर्देशन लागू त गर्नैपर्यो । तर, यसले प्रिमियम आम्दानी घट्ने देखिन्छ,' सिध्दार्थ इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले भने, 'निर्जीवनतर्फमा बीमा कम्पनीको दायित्व केही बढी हुने भएकाले बीमाशुल्क दर घटाइँदा कम्पनीलाई अप्ठयारो भने पर्छ ।' निर्जीवन बीमातर्फको बीमाशुल्क दर निर्धारण तथा लागू दुवै बीमा समितिले नै गर्छ । जीवन बीमामा भने कम्पनीहरूले सिफारिश गरेको दर समितिले लागू गराउने गर्दछ ।

'पहिले द्वन्द्वकालको जोखिमलाई आधार मानेर बीमाशुल्क दर निर्धारण गरिएको थियो । तर, अहिले परिस्थिति सुध्रिएकाले जोखिम पनि त्यसबेलाको भन्दा धेरै कम छ । त्यसैले बीमितको हितका लागि पनि समयानुकूल परिमार्जन हुने गरी अग्नि र मोटर बीमाअन्तर्गतका विभिन्न शीर्षकको बीमाशुल्क दर घटाइएको हो,' बीमा समितिका प्रवक्ता तथा कानून शाखाप्रमुख शेखरकुमार अर्यालले अभियानसँग भने । बीमाशुल्क दर सस्तो हुँदा बीमितिको सङ्ख्या पनि बढ्ने सम्भावना हुन्छ । त्यसकारण समितिको पछिल्लो निर्णयट बीमकको समेत प्रवर्द्धन हुने विश्वास अर्यालको छ ।

अग्नि बीमाअन्तर्गतको हूलदङ्गा, तोडफोड र द्वेषपूर्ण कार्यको बीमाशुल्क दरमा ३५ प्रतिशत कटौती भएको छ । यसअन्तर्गतकै थोक तथा खुद्रा पसलको बीमाशुल्क दर भने ५० प्रतिशत घटाइएको छ । 'थोक तथा खुद्रा पसलको खासै बीमा नभएको र भएकामा पनि दुर्घटनाको दर अति न्यून देखिएको छ,' अर्यालले भने, 'त्यसैले यस वर्गमा बीमाको दायरा फराकिलो बनाउन पनि बीमाशुल्क दर घटाइएको हो ।'

मोटर बीमाअन्तर्गतको सरकारी सवारीसाधनको हकमा लगाउँदै आएको तेस्रो पक्षलगायत सबै बीमाशुल्क दर ५० प्रतिशत घटाइएको छ । सरकारी सवारीको दुर्घटना दर अहिलेसम्म अत्यन्त न्यून रहेको छ । यसमा जोखिम पनि कम भएकाले सकेसम्म धेरै सरकारी सवारीको बीमा होस् भन्ने उद्देश्यले दर घटाएको समितिले बताएको छ ।

मोटर बीमामा नयाँ व्यवस्था
दुर्घटना भएको सवारीसाधन दुर्घटनास्थलबाट सडकसम्म निकाल्दा लाग्ने खर्चलाई बीमाङ्कअन्तर्गत भुक्तानी गर्नुपर्ने नयाँ व्यवस्था बीमा समितिले गरेको छ । यस्तो खर्च बीमाङ्कको ५ प्रतिशत वा रू. १ लाख वा वास्तविक खर्चमध्ये जुन कम हुन्छ, त्यसलाई बीमालेखअन्तर्गत भुक्तानी गनुपर्ने व्यवस्था गरिएको छ । सोबापतको वार्षिक बीमाशुल्क निजी सवारी (मोटरसाइकलबाहेक) का लागि रू. २ सय र व्यावसायिक सवारीका लागि रू. ५ सय तोकिएको छ ।

त्यस्तै, हेभी इक्वीपमेण्टको हकमा बीमाङ्कको ५ प्रतिशत वा रू. २ लाख ५० हजार वा वास्तविक खर्चमध्ये जुन कम हुन्छ, त्यस्तो खर्च बीमालेखअन्तर्गत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबापत लाग्ने वार्षिक बीमाशुल्क प्रतिसवारी रू. १ हजार कायम गर्न समितिले निर्देशन दिएको छ ।

बीमकहरूले जारी गर्दै आएको अस्थायी बीमालेखमा समितिले रोक लगाएको छ । 'मोटर बीमासम्बन्धी निर्देशिका २०६६' मा कुनै पनि सवारीको बीमा गर्दा अनिवार्य रूपमा बीमालेख जारी गर्नुपर्ने व्यवस्था गरेकाले यसमा रोक लगाइएको अर्यालले बताए ।

साथै, सवारीसाधनको बीमा गर्दा बीमकहरूले जारी गर्नुपर्ने बीमाको प्रमाणपत्र अनिवार्य जारी गर्न पनि समितिले निर्देशन दिएको छ । सबै सवारीको बीमा गर्दा दिइनुपर्ने र सवारीमा पनि प्रस्ट देखिने गरी राखिनुपर्ने यस्तो प्रमाणपत्रमा एकरूपता ल्याउनका लागि समितिले गृहकार्य अघि बढाउने भएको छ । सरकारले तेस्रो पक्ष बीमा नभएका सवारी गुड्न नदिने भनेको छ । यसलाई प्रभावकारी रूपमा लागू गराउन पनि बीमा प्रमाणपत्र अनिवार्य गर्न तथा एकरूपता आवश्यक देखिएको समितिका प्रवक्ता अर्यालले बताए ।

http://www.abhiyan.com.np/article-feature3_10_magh

No comments:

Post a Comment