Thursday, January 20, 2011

बीमा कम्पनी थप्न समिति नै अनिच्छुक’

माघ ५, काठमाडौं (अस)। नयाँ बीमा कम्पनीका लागि अनुमति प्रक्रिया अघि बढाउन बीमा समितिले नै नचाहेको अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूले आरोप लगाएका छन् । जीवन तथा निर्जीवन गरी बीमा व्यवसाय सञ्चालन गर्न चार वर्षअघि १३ कम्पनीले समितिमा निवेदन दिए थिए । निवेदन दिएको चार वर्षसम्म पनि समितिले यसबारे ठोस निर्णय लिन नसक्नुले बीमा समितिको नियामकको हैसियतमाथि नै प्रश्न उठेको उनीहरूको भनाइ छ ।

'अनुमति दिने भए समयमै दिनुपर्छ, नदिने भए पनि के कारणले नदिने हो त्यो खुलाउन पर्छ,' प्रस्तावित मनकामना इन्स्योरेन्स कम्पनीका एक प्रवर्द्धक किरण साखःले अभियानसँग भने, 'निवेदन दिएको ४ वर्ष बितिसक्दा पनि समिति र अर्थ मन्त्रालयले निर्णय नगरी झुलाइरहेको छ । कम्पनीसमेत गठन भइसकेकाले लगानी प्रयोगहीन भएर अड्किएको छ ।' 'अनुमतिका लागि बारम्बार घचघच्याउँदा पनि चासो नदिएकाले दिक्क भएर समिति धाउन छाडेकै १ वर्षभयो,' प्रस्तावित एक जीवन बीमा कम्पनीस्रोतले भन्यो । निवेदन दिएकामध्ये कुनै पनि कम्पनी विगत छ महीनादेखि सम्पर्क मा नआएको समितिले बताएको छ ।

'अहिले बीमाक्षेत्रमा जनशक्ति अभाव रहेको र नयाँ आउने कम्पनीका लागि व्यवसायसमेत नपुग्ने भएकाले पनि अनुमति रोकिएको हो,' बीमा समितिका प्रवक्ता तथा कानून शाखाप्रमुख शेखरकुमार अर्यालले अभियानसँग भने, 'अनुमति खोल्ने हो भने २०-२५ ओटा बीमा कम्पनी थपिने निश्चित छ । तर, अहिलेको अवस्थामा बीमा बजारमा यतिका धेरै कम्पनी आवश्यक छैन ।' समितिसँग बीमा कम्पनीको नियमनका लागि कानूनी व्यवस्था अपर्याप्त भएकाले नयाँ बीमा ऐन नआउन्जेल अनुमति नखुलाइएको उनको भनाइ छ । हाल अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूसँगै निवेदन दिने गुराँस, प्राइम, एशियन र सूर्य गरी चार जीवन बीमा कम्पनीलाई भने समितिले २ वर्षअघि अनुमति दिएको थियो । 'निवेदन दिने सबै कम्पनीबाट आवश्यक कागजात मागिएको थियो । कागजात पुर्याउनेले अनुमति पाए, नपुर्याउने अड्किए,' अर्यालले भने ।

'समितिले कागजात पुगेन भनेपछि हामीले उनीहरूले भनेअनुसारको सबै प्रक्रिया पुर्यायौं । तर, त्यसपछि पनि समितिबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,' अनुमति पर्खाइमा रहेको जनरल इन्स्योरेन्स नेपाल कम्पनीका एक प्रवर्द्धक झपट बोहराले भने । जनरल इन्स्योरेन्समा एक वाणिज्य बैङ्क, २८ विकास बैङ्क र नौ फाइनान्स कम्पनीको संयुक्त लगानी रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै संस्थागत प्रवर्द्धक रहेको कम्पनी हो ।

जीवन बीमा कम्पनी सञ्चालनका लागि अर्थ मन्त्रालयले स्वीकृति दिनुपर्छ । निर्जीवनका लागि भने अनुमति दिने पूर्ण अधिकार बीमा समितिमा नै छ । नयाँ बीमा कम्पनीका लागि अनुमतिको प्रक्रिया प्रस्तावित नयाँ बीमा ऐन पारित भएपछि मात्र अगाडि बढ्ने समितिले बताएको छ । समितिले ऐनको मस्यौदा गत असारमा अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थमा गठित कार्यदलले अध्ययन गरी सो मस्यौदा अहिले कानून मन्त्रालयमा पठाएको छ । सरकारले पनि बीमा ऐनलाई प्राथमिकतामा राखेकाले अब केही महीनाभित्रै ऐन आइसक्ने समितिका अध्यक्ष डा. फत्तबहादुर केसी बताउँछन् । 'स्वतन्त्र अनुसन्धानकर्ताबाट बीमा उद्योगको अनुसन्धान गराइरहेका छौं । उनीहरूको प्रतिवेदनका आधारमा र नयाँ बीमा ऐनअनुसार के कति बीमा कम्पनीहरू आवश्यक छन् भन्ने हेरेर अनुमति दिनेछौं,' केसीले भने ।

समितिका अनुसार, अब अनुमति लिने बीमा कम्पनीले नयाँ ऐनअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने प्रस्ताव छ, जसअनुसार चुक्ता पूँजी जीवन बीमा कम्पनीले रू. १ अर्ब र निर्जीवनले रू. २ अर्ब पुर्याउनु पर्नेछ । अहिले सञ्चालित कम्पनीको हकमा यो जीवनतर्फ३६ करोड र निर्जीवनतर्फसाढे १२ करोड रुपैयाँ छ । 'यस उद्योगमा साँच्चिकै गम्भीर भएर आउन चाहनेलाई चुक्ता पूँजीको नयाँ प्रावधानले रोक्दैन,' समितिका प्रवक्ता अर्यालले भने । तर, ३ वर्षअगाडि निवेदन दिने कम्पनीलाई त्यसैबेलाको नीतिअनुसार अनुमति दिनुपर्ने बोहराको भनाइ छ । 'पुरानाले नै पनि रू. १० करोड चुक्ता पूँजी पुर्याएका छैनन् । त्यसमाथि नयाँले बीमामा १ अर्ब लगानी गरेर त्यो अनुसारको प्रतिफल उठाउन सक्ने अवस्था छैन,' उनले भने, 'पहिले नै निवेदन दिनेलाई नयाँ प्रावधानअनुसार प्रक्रिया पूरा गर्नुपर्छ भन्ने समितिको अभिव्यक्ति नियामकमा हुनुपर्ने व्यावहारिक अनुभवको कमीको उदाहरण र निजीक्षेत्रलाई हतोत्साही बनाउने कदम हो ।'

http://www.abhiyan.com.np/article-feature1_06_magh

No comments:

Post a Comment