Monday, February 28, 2011

पाँच वर्षमा बीमा व्यवसाय दोब्बर

फागुन १४, काठमाडौं (अस)। पछिल्ला ५ वर्षयता नेपालमा बीमा व्यवसायको वृद्धि दोब्बरभन्दा बढी भएको छ । सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले २०६२/६३ देखि २०६६/६७ सम्म वार्षिक विक्री गरेको बीमालेख सङ्ख्या र प्रिमियम आम्दानी हेर्दा यस्तो देखिएको हो । यसबारे सिध्दार्थ इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोट भन्छन्, 'कारोबार रकम र बीमितको सङ्ख्या केही बढेको पक्कै हो । तर, व्यवसाय बढेको देखिए पनि समग्रमा पछिल्लो ५ वर्षमा बीमा उद्योगकै विस्तार भने खासै भएको छैन ।' जीवनबीमा कम्पनीहरू पछिल्लो समय मा ७५ ओटै जिल्ला पुगेका भए पनि निर्जीवन बीमा कम्पनीहरू अझै शहरकेन्द्रित हुनुपर्ने बाध्यताले बीमा उद्योग विकास हुन नसकेको उनको भनाइ छ । निर्जीवनतर्फ व्यक्तिगत दुर्घटना र अनिवार्य तेस्रोपक्ष बीमाका कारण मात्र बीमालेख र प्रिमियम सङ्कलन बढेको उनले बताए ।

आर्थिक वर्ष२०६२/६३ मा जीवन तथा निर्जीवन दुवैतर्फका बीमा कम्पनीहरूले कुल ५ लाख ३४ हजार बीमालेख विक्री गरेको बीमा समितिको तथ्याङ्क छ । पछिल्लो आवसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक १२ लाख २० हजार पुगेको छ । यसरी हेर्दा विगत ५ वर्षयता कम्पनीहरूको वाषिर्क बीमालेख विक्रीमा १ सय २८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जीवन/निर्जीवन दुवै बीमा पोलिसी विक्री औसतमा करीब २३ प्रतिशतले बढेको छ ।

बीमा व्यापारमा वार्षिक २० देखि २५ प्रतिशतको वृद्धि स्वाभाविक हुने बीमकहरूको भनाइ छ । बजारमा नयाँ बीमा कम्पनीहरू थपिनुका साथै बीमाप्रति सचेतना बढेकाले पनि बीमालेखको विक्री वृद्धि भएको उनीहरू बताउँछन् । तर, अझै पनि बीमासुरक्षाका लागिभन्दा पनि आवश्यक भएपछि मात्रै गर्ने सोच सर्वसाधारणमा कायमै रहेको तमोटको भनाइ छ । बीमालेख विक्रीमा सुधार देखिए पनि अहिले पनि कुल जनसङ्ख्याको करीब ५ प्रतिशत मात्र बीमाको दायरामा आएको बीमा समितिका उपनिर्देशक शेखरकुमार अर्यालले जानकारी दिए । हाल कुल बीमितको सङ्ख्या १२ लाखको हाराहारीमा पुगेको अनुमान छ ।

यस अवधिमा कम्पनीहरूको प्रिमियम आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । ५ वर्षअघि १ वर्षको प्रिमियम आम्दानी जीवन/निर्जीवन दुवै मिलाएर जम्मा रू. ६ अर्ब ६४ करोड थियो । आव २०६६/६७ मा आइपुग्दा यो वार्षिक सवा १५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुवै अवधिमा जीवनबीमा प्रिमियमको हिस्सा करीब ५७ प्रतिशत छ । विगत ५ वर्षमा जीवन बीमातर्फ प्रिमियम सङ्कलनको औसत वृद्धि करीब २२ प्रतिशत छ भने निर्जीवनतर्फ२६ प्रतिशत छ । जीवन बीमातर्फ अनिवार्य वैदेशिक रोजगार बीमाका कारण व्यावसाय बढेको देखिएको नेपाल बीमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । 'वैदेशिक रोजगारीमा जानेका आधारमा यसबापतको बीमालेख मात्र वार्षिक करीब २ लाख विक्री हुने गरेको छ । यसबाट मात्र जीवनबीमामा झण्डै रू. १ अर्ब प्रिमियम थपिन्छ,' उनले भने ।

पछिल्ला केही वर्षमा निर्जीवनतर्फ व्यक्तिगत दुर्घटना बीमा, यात्रा बीमा, स्वास्थ्य बीमा, पेशागत तथा व्यक्तिगत दायित्व बीमालगायतका नयाँ बीमा उत्पादन थपिएका छन् । जीवन बीमातर्फ पछिल्लो ५ वर्षमा नयाँ उत्पादनहरू थपिनुका साथै विविधीकरणसमेत भए पनि त्यसको तुलनामा निर्जीवनमा भने खासै सुधार नआएको बीमक सङ्घका अध्यक्ष पाण्डेको अनुभव छ । पछिल्लो समयमा नेपालीको क्रयक्षमतामा आएको ह्रास र बैङ्क लगानी अभावको नकारात्मक असर बीमा उद्योगमा समेत परेको उनले जानकारी दिए ।

http://www.abhiyan.com.np/article-feature1_15_falgun

No comments:

Post a Comment