Tuesday, October 26, 2010

पशु बिमा अनिवार्य नहुँदा किसान मर्कामा

काठमाडौं, (नेस), पशुधन बिमा नहुँदा पशुपालक किसानहरु जोखिममा परेको सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्।


राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय सहकारी संघ लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको दूधको संकट समाधान विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन् ।
कर्जा सुरक्षा निगमले बैंकबाट ऋण लिएका पशुहरुको मात्र बिमा गर्ने हुँदा स्वलगानीमा पालेका दूधालु पशुहरु बिमाबाट वंचित भई पशुपालकहरु असुरक्षित हुनुपरेको केन्द्रीय दूध सहकारी संघ लिमिटेडका महासचिव रमन पाठकले बताउनुभयो।

कार्यक्रममा विद्यमान दूध संकट र पशुपालकहरुका समस्या विषयमा कार्यपत्र प्रस्तुत गर्दै महासचिव पाठकले निर्वाहमुखी पशुपालकलाई व्यावसायीकरणतर्फ उन्मुख गराउन ऋण लिएको पशुको साथमा स्वलगानीमा पालेका दुधालु पशुको समेत अनिवार्य बिमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो। विद्यमान बिमा नीतिअनुसार प्रिमियम ६ प्रतिशत लाग्ने गरेको छ भने त्यसमध्ये ३ प्रतिशत प्रिमियम किसानले र ३ प्रतिशत सरकारले व्यहोर्ने गरेको छ।

यो व्यवस्था स्वलगानीमा पालेका दूधालु पशुहरुमा पनि लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पशु बिमा कार्यान्वयनको लागि कर्जा सुरक्षा निगमले गर्नुपर्ने वा विद्यमान पशुधन बिमा नीति अनुरुप केन्द्रीय दुग्ध सहकारी संघलाई समेत प्रत्यायोजन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो। त्यसै गरी उहाँले उक्त सहकारी संघलाई पशु बिमा गराउन पाउने अनुमति प्रदान गर्नु्रपर्ने समेत माग गर्नुभयो।

http://www.newsofnepal.com/detailnews.php?type=samachaar&cat=16&id=48250

No comments:

Post a Comment