Thursday, October 7, 2010

कुवेतमा घरेलु कामदार बिमा लागू

काठमाडौ, आश्विन २० -
कुवेतमा घरेलु कामदार -हाउसमेड) को सुरक्षाका लागि बिमा व्यवस्था लागू भएको

छ । त्यहाँस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयको स्वीकृतिबमोजिम प्राइभेन्ट सर्भेन्ट भिसा -भिसा नं. २०) मा काम गर्न जाने हाउसमेड -घरेलु चालक, कामदार) को बिमा गरेको हो । हाउसमेडका लागि कुवेत प्रमुख गन्तव्य मुलुक हो ।

कामदार लैजाने साहुले दुई वर्षे करार अवधिमा ५० कुवेती डिनार -करिब १३ हजार रुपैयाँ) तिरेर बिमा गरिदिने व्यवस्था मिलाइएको छ । 'साहुले बिमाको रकम तिर्ने हुँदा नेपाल सरकारलाई आर्थिक दायित्व पर्दैन र कामदारको तलबबाट पनि कट्टा हुँदैन,' राजदूत मधुवन पौडेलले भने, 'अब दूतावासमा बिमित कामदारको अभिलेख हुने र तिनले सजिलै उद्धार र क्षतिपूर्ति पाउनेछन् ।'

कुवेतमा झन्डै ४० हजार नेपाली कामदार

छन् । तीमध्ये २५ हजारभन्दा बढी महिला छन् । घरेलु काममा पुरुष कामदार -घरेलु चालक) लाई नेपालले अनुमति दिए पनि महिलालाई भने प्रतिबन्धै छ । तर महिलाहरू पनि 'भिजिट' वा 'इन्ट्री' भिसामार्फत स्वदेशी विमानस्थलबाटै दैनिकजसो त्यहाँ पुगिरहेका छन् ।

कामदारको अभिलेख नहुँदा समस्यामा परेकालाई उद्धार र क्षतिपूर्ति दिलाउन नसकिएको दूतावासले जनाएको छ । पौडेलका अनुसार बिमित कामदारको मृत्यु, अंगभंग भएमा पचास हजारदेखि सात लाख पचास हजार रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । 'स्वभाविक मृत्यु -प्रकृति मृत्यु, हृदयाघात), दुर्घटनामा परी आंशिक अशक्त वा अपाङ्ग भएमा, दुवै कानको श्रवण शक्ति, दुवै खुट्टा र हात, एक हात र खुट्टा, बोल्ने शक्ति, दुवै आँखाको दृश्य शक्ति गुमेमा सात लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन्,' उनले भने, 'अशक्त भएमा र शव स्वदेश पठाउने दायित्व स्पोन्सरकै हुन्छ ।'

खाडीमा मृत्यु हुने अधिकांश कामदार हृदयाघात र सुतेको सुत्यै हुन्छन् । यसरी मृत्यु हुनेले क्षतिपूर्ति नपाउने र शव पठाउन स्पोन्सर वा कम्पनीले अस्वीकार गर्ने हुँदा परिवारकै काँधमा आइपर्ने प्रमुख समस्या छ ।

मेडिकल फेल भएमा, दुई वर्ष वा करार समाप्त भएपछि स्पोन्सरले नेपाल आउन नदिएमा, शारीरिक दुव्र्यवहार भएको प्रमाणित भएमा स्वदेश फिर्ने टिकट पनि साहु वा एजेन्टले नै तिर्नुपर्छ । कानुनी उपचार, दूतावासको सेल्टरमा रहुन्जेल खान/बस्न प्रबन्ध तथा उपचार सुविधा समेत व्यवस्था गरिएको छ । आत्महत्या, अरू व्यक्तिको राहदानी प्रयोग र काम गर्न अनुमति घरबाट भागेको ३ दिनभित्र दूतावासमा जानकारी नदिएमा भने बिमाअनुसार क्षतिपूर्ति तथा सुविधा नपाइने दूतावासले जनाएको छ ।

बिमाको प्रमाणपत्र, सर्भिस प्रमाणपत्र, दूतावासको सहीछाप परेको वा प्रमाणित करारनामा, दूतावासको सहीछाप भएको भिसा पेपर, श्रमस्वीकृति, प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्र साथमा भएका कामदारले मात्र यो सुविधा पाउँछन् । त्यसैले दूतावासले कुवेत पुगेपछि मात्रै बिमा हुन्छ भन्ने एजेन्टको

भरमा नपर्न अनुरोध गरेको छ । 'भिजिट वा इन्ट्री भिसा लिई कामदारहरू त्रिभुवन विमानस्थल र भारतीय हवाई मार्गबाट आइरहेका छन् । यी कागजात नलिई आएमा कामदारको हक, हित र सुविधाका लागि दूतावासले कुनै सहयोग गर्न सक्दैन,' पौडेलले भने ।

प्रकाशित मिति: २०६७ आश्विन २१ ०८:३९

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=227907

No comments:

Post a Comment