काठमाडौँ, फागुन १७ गते । विद्यमान "आकस्मिक बिमा कोष"लाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गरी त्यसलाई नै दीर्घकालीन पुनर्बिमा कम्पनीको रूपमा विस्तार गर्न विज्ञहरूले सुझाव दिएका छन् । यस सम्बन्धी रणनीतिक योजना तयार गर्न सरकारद्वारा गठित कार्यदलले सोमबार उपप्रधानमन्त्री समेत रहनुभएको अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो ।
त्यस अवसरमा कार्यदलका संयोजक तथा अर्थमन्त्रालयका सहसचिव विष्णुप्रसाद लम्सालले हुलदंगा, हड्ताल, द्वेशपूर्ण कार्य, आतङ्कवाद र विध्वंसात्मक कार्यमा बिमाका तीनवटा जोखिमको समूह बनाई बिमा गराउनुपर्ने हिजोको परिस्थितिमा परिवर्तन आएको सन्दर्भमा नेपालमा पुनर्बिमा कम्पनीको स्थापना अपरिहार्य भएको बताउनुभयो । प्रतिवेदनमा पुनर्बिमा कम्पनी स्थापना गर्नुपर्ने विभिन्न १६ वटा कारणसहितको सुझाव दिएको छ ।
प्रत्यक्ष बिमा व्यवसायको आकार क्रमशः विस्तार भई पुनर्बिमा बजारको आधार तयार भएको छ । अन्य मुलुकहरूमा पनि राष्ट्रिय पुनर्बिमा कम्पनीहरू स्थापना भई व्यवसायको काम भइरहेकाले नेपालमा पनि पुनर्बिमा कम्पनी स्थापना गर्न आवश्यक भएको कार्यदलका संयोजक लम्सालले बताउनुभयो । अब पुनर्बिमा कम्पनी स्थापना गरेर कर्यको सुरुवात नगर्ने हो भने ठूलो रकम विदेशीने कुरा प्रतिवेदनमा उल्लेख छ । पछिल्लो तथ्याङ्क अनुसार पुनर्बिमाबाट दुई अर्ब ६० करोड रुपियाँ मुलुकबाट बाहिरिएको छ ।
सार्वजनिक विश्वास सहज बनाउन पुनर्बिमा कम्पनीमा राज्यको स्वामित्व हुन अनिवार्य भएको पनि प्रतिवेदनले सुझाव दिएको छ । भारत, पाकिस्थान तथा बङ्गलादेशमा लगायतका मुलुकहरूमा स्थापना भएका यस्ता कम्पनी राज्यको स्वमित्व रहेको प्रतिवेदनमा बताइएको छ ।
पुनर्बिमा कम्पनीको रणनीतिक योजना तयार पार्न सरकारले यसअघि अर्थमन्त्रालयका सहसचिव विष्णुप्रसाद लम्सालको संयोजकमा चार सदस्य कार्यदल गठन गरिएको थियो । प्रतिवेदन बुझिसकेपछि उप-प्रधानमन्त्री अधिकारीले कार्यदलले दिएको सुझाव अनुसार तत्काल कार्यको सुरुआत गरिने बताउनुभयो ।
सो अवसरमा अर्थमन्त्रालयको सल्लाहकार केशव आचार्यले पुनर्बिमा कम्पनी स्थापनाका लागि कम्पनी दर्ता गरेर तत्काल काम सुरु गर्ने बताउनुभयो । त्यस्तै अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि बास्कोटाले यस विषयमा निजी क्षेत्र र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग परामर्श गरेर सुझाव अनुसार काम सुरु गर्ने बताउनुभयो ।
http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=46978&cat_id=19
Wednesday, March 2, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment