Monday, March 14, 2011

जापानको भूकम्पको धक्का पुनर्बीमा कम्पनीहरूमा

फागुन २८, फ्र्याङ्कफर्ट (जर्मनी) । जापानमा शुक्रवार आएको भूकम्पको क्षतिबाट अन्तरराष्ट्रिय बीमाप्रदायकहरूले ठूलो रकम बेहोर्नुपर्ने भएको छ । उनीहरू अहिले जापानमा आएको भूकम्प र त्यसपछिको सुनामीका कारण दिनुपर्ने क्षतिपूर्तिको लेखाजोखा गरिरहेका छन् । केही समयअघि मात्रै न्युजील्याण्डमा आएको विनाशकारी भूकम्पबाट संसारका ठूला पुनर्बीमा कम्पनीहरूले ठूलो रकम भुक्तानी गर्नुपरेको थियो । भूकम्प र सुनामीको खबरपछि यूरोपेली पुनर्बीमा कम्पनीका शेयरहरू तल ओर्लेका थिए । भूकम्प र सुनामीपछि सयौंको मृत्यु हुनुका साथै आगलागी, कारखाना बन्दलगायत एउटा आणविक भट्टीमा समेत गम्भीर क्षति पुगेको छ ।

पुनर्बीमा कम्पनीहरूले क्षतिपूर्तिको रकमबारे अहिल्यै अनुमान गर्न गाह्रो हुने भए पनि त्यो निकै ठूलो हुने बताएका छन् । बीमा कम्पनीहरूले यस्तै सङ्कटका बेला आफूलाई भरथेग होस् भनेर अन्तरराष्ट्रिय ठूला कम्पनीहरूमा पुनर्बीमा गराएका हुन्छन् ।

अष्ट्रेलियाको बाढी, न्युजील्याण्डको भुइँचालो र अहिले जापानको क्षतिसमेत गरेर पुनर्बीमा कम्पनीहरूका लागि यो वर्ष निकै महँगो साबित भएको पेरिसस्थित एक विश्लेषकको मूल्याङ्कन छ । त्यसैगरी, बेलायती लगानी बैङ्क जेपी मोर्गन क्याजेनोभका अनुसार, जापानको क्षतिबाट यूरोपेली पुनर्बीमा कम्पनीहरूलाई १ देखि २ अर्ब डलरसम्मको घाटा हुनेछ । इटालीको इन्भेष्टमेण्ट बैङ्क पनि पुनर्बीमा क्षेत्रलाई ठूलो भार पर्ने कुरामा सहमत छ ।

पुनर्बीमा क्षेत्रका अग्रणी म्युनिख री तथा स्वीस रीले क्षतिबाट आफूहरूलाई परेको असरबारे अहिल्यै भन्न नसकिने बताएका छन् । जर्मन बैङ्क सिल्भिया क्वाण्टका क्रिश्चियन मुश्चिखका अनुसार, जापानकै कोबेमा १९९५ मा आएको भूकम्पबाट मूल्यस्फीति समावेश नगरीकनै पनि उद्योगले कुल ६ अर्ब डलरको खर्च बेहोर्नुपरेको थियो । तर, म्युनिख रीले भने त्यतिखेर १ खर्ब डलरको क्षति हुँदा पुनर्बीमा कम्पनीहरूले ३ अर्ब डलरमात्र बेहार्नुपरेको बताएको छ ।

तर, भूकम्पसँगै सुनामीसमेत आएकाले हालको क्षति अझै बढी हुन सक्ने अमेरिकी पुनर्बीमा कम्पनी यूएस रीका भाइस प्रेजिडेण्ट ब्रायन म्याक गुइरेको धारणा छ । तर, जापानी सरकारले एउटा ठूलो कोष नै खडा गरेर त्यहाँका घरहरूको भूकम्प बीमा गरेको हुनाले बीमा कम्पनीहरूलाई पर्ने भार कम हुन सक्ने उनको अनुमान छ । जापानलगायत प्यासिफिक क्षेत्रका अन्य देशमा सुनामीले पुर्‍याएको क्षतिबाट पनि अन्तरराष्ट्रिय पुनर्बीमा कम्पनीहरूलाई धक्का लाग्नेछ । एएफपी/रासस

http://www.abhiyan.com.np/article-feature1_29_falgun

No comments:

Post a Comment