Wednesday, December 15, 2010

सर्भेयरको हड्तालले बिमा दाबी ठप्प

१२ दिनदेखि सर्भेयर आन्दोलनमा

सर्भेयर फि ३ सय १६ प्रतिशतसम्म बढ्यो

काठमाडौं, २६ मंसिर

दुर्घटनाको क्षति मूल्यांकन गरी बिमितले पाउने रकम सिफारिस गर्ने सर्भेयरहरूले शुल्कवृद्धिको माग गर्दै १२ दिनदेखि काम ठप्प पारेका छन् । यसले गर्दा दुर्घटनाका कैयौं घटनाको दाबी हुन सकेको छैन ।

लामो समयदेखि सर्भेयरले लिने शुल्क वृद्धिका विषयमा छलफल भए पनि नेपाल बिमक संघले चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको बिमा सर्भेयर संघ नेपालले जनाएको छ । तर, आफूहरूले काम बन्द गर्नुअघि परिस्थितिका बारेमा सम्बन्धित सबैलाई जानकारी दिएको उसको दाबी छ । अनेक प्रयास गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर एकतर्फी शुल्क वृद्धि गरिएको उसले बताएको छ ।

क्षतिको निरीक्षण र दायित्व बेहोर्नु पर्ने÷नपर्ने बारेमा स्वतन्त्र रूपले छानबिन गरी दाबी मूल्यांकन सिफारिस गर्ने सर्भेयरहरूले काम नगर्दा पीडित (बिमित) मर्कामा परेका छन् । बिमा गरिएको सम्पत्तिमा क्षति भएपछि त्यसको मूल्यांकन गर्ने तटस्थ प्राविधिक सेवा सर्भेयरले बिमा कम्पनीलाई दिन्छन् ।

सर्भेयरको हड्तालले सबैभन्दा बढी नोक्सान दुघर्टनामा पर्नेलाई भएको छ । यो अत्यावश्यक सेवाभित्र पनि पर्ने भएकाले दुबै पक्षलाई बोलाएर छिटो समाधान निकाल्न आग्रह गरिएको बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले बताए । तर, समस्या बल्झिँदै गए समिति चुप लागेर नबस्ने र समाधान निकाल्ने भनाइ उनको छ । “शुल्क निर्धारण गर्ने काम बिमक संघ र सर्भेयर संघको हो,” उनले भने ।

सर्भेयर संघले एकतर्फी रूपमा मनोमानी ढंगले शुल्क बढाएको र वार्तामा नआएको आरोप बिमक संघको छ । सर्भेयर संघले भने बिमक संघले मौखिक सहमति जनाएर पनि कार्यान्वयनमा आनाकानी गरेको दाबी गरेको छ । बिमक संघले न्यूनतम ५० प्रतिशतदेखि ३ सय १६ प्रतिशतसम्म शुल्क वृद्धि गरिएको जनाएको छ । तर, यसबारेमा बिमक संघ र सर्भेयर संघका पदाधिकारी तथा बिमा कम्पनी खुलेर कुरा गर्न चाहँदैनन् ।

एक बिमा कम्पनीका प्रमुख कार्यकारीले त बिमा सर्भेयरहरूले जुनसुकै हथकण्डा पनि अपनाउने भएकाले सुरक्षाका लागि कुनै कम्पनी बोल्न नचाहेको बताए ।

बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले उपाध्यक्ष केवलकृष्ण श्रेष्ठसँग सम्पर्क गर्न अनुरोध गरे भने श्रेष्ठले केही बोल्न चाहेनन् । बिमा कम्पनीहरू भने अनौपचारिक रूपमा शुल्कमा पुनरावलोकन गर्न राजी भए पनि सर्भेयर संघको व्यवहारले प्रक्रिया अघि बढ्न नसकेको. एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।

दुबै पक्षले वार्ता टोली गठन गरेको बताए पनि वार्ता हुन नसकेको स्वीकार गरेका छन् । बिमक संघले मंसिर १७ गते अध्यक्ष पाण्डेको अध्यक्षतामा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । सर्भेयर संघले पनि वार्ता टोली गठन गरेको बताए पनि अन्य कुरा खुलाउन चाहेन ।

सर्भेयर संघका अनुसार नेपाल राष्ट्र बैंकले निकालेको महँगी परिसूचक (इन्फ्लेसन इन्डेक्स) लाई समग्रमा मिलाएर ४० देखि ५० प्रतिसतसम्म शुल्क बढाएको छ । बिमक संघले अनावश्यक हल्ला पिटाएर सर्भेयर संघलाई फुटाउन खोजेको आरोप लगाएको छ । सर्भेयर संघका अधिकारी पनि खुलेर बोल्दा भोलि तिनै कम्पनीको काम लिन समस्या हुने भएकाले व्यक्तिगत रूपमा चिढिन चाहँदैनन् ।

विश्वव्यापी रूपमा बिमा कम्पनीले सर्भेयरको काम नगर्ने प्रचलन रहेको बताउँदै सर्भेयर संघका एक अधिकारीले नेपालको कानुनअनुसार पनि बिमा कम्पनीले सर्भेयरको काम गर्न नपाउने जानकारी दिए ।

“१२ दिन नाघिसक्दासमेत बिमा कम्पनीहरू निश्चिन्त रहेकोमा आश्चर्य लागेको छ,” उनको प्रश्न थियो, “सर्भेयर नहुँदा पनि काम कसरी भएको छ ?” आफूहरू अप्रिय स्थिति आउन नदिने मनस्थितिमा रहेकाले पनि विषयलाई नबढाइएको सर्भेयर संघको भनाइ छ ।

हरेक तीन वर्षमा शुल्क पुनरावलोकन गर्ने व्यवस्था भए पनि पाँच वर्ष नाघिसकेकाले एकतर्फी रूपमा शुल्क बढाउनु परेको सर्भेयर संघको दाबी छ । सर्भेयर शुल्क पछिल्लोपटक २०६२ फागुनमा पुनरावलोकन भएको बताइएको छ । सर्भेयर संघले २०६५ मै शुल्क पुनरावलोकन हुनुपर्नेमा अहिलेसम्म नभएकाले बाध्य भएर काम रोक्नुपरेको स्पष्ट पारेको छ ।

नयाँ शुल्क लागू गर्नुअघि सबै बिमा कम्पनीसँग छुट्टाछुट्टै र नेपाल बिमक संघसँग पनि छलफल भएको सर्भेयर संघको दाबी छ । यसअघि असोज १ गतेदेखि नै नयाँ शुल्क लागू गर्न खोजेको भए पनि बिमकसँग कुरा मिल्ने आशामा पर्खिएको र त्यसको सुनुवाइ नभएपछि बाध्य भएर मंसिर १५ बाट काम रोकेको उसले बताएको छ ।

बिमक संघले मौखिक रूपमा सहमति जनाए पनि पछि सहमति तोडेको आरोप सर्भेयर संघको छ । काम रोक्नेबारे पछिल्लो पटक मंसिर ४ गते सर्भेयरहरूको भेलाले गरेको निर्णय मंसिर ५ मा सबै कम्पनी, बिमक संघ र बिमा समितिलाई जानकारी गराइएको उसले बताएको छ । कामै रोकेर बस्दासमेत बिमक संघका अधिकारीहरूले भेटै गर्न नचाहेको उसको भनाइ छ । “अन्य कुनै विकल्प नभएपछि आन्दोलन गर्नुपरेको हो,” ती अधिकारीले भने ।

हाल बिमा समितिबाट स्वीकृति लिएर बसेका मध्ये १ सय २० ले सर्भेयर काम गरेको र करिव १ सय संघमा आबद्ध रहेको उनले बताए ।

सर्भेयरहरूले सवारीसाधनका हकमा दाबीकर्ताले दाबी गरेको मूल्यअनुसारको स्ल्याबमा, आगलागी, इन्जिनियर र अन्यमा सर्भेयरले मूल्यांकन गरेको मूल्यांकन स्ल्याबमा र मेरिनमा दिनका आधारमा शुल्क लिने गरेका छन् । सवारीसाधन, आगलागी, इन्जिनियर र अन्यका हकमा बिमा कम्पनीबाट र मेरिनमा सामानवालाबाट यो शुल्क लिइन्छ ।

http://www.karobardaily.com/news/3215?utm_source=twitterfeed&utm_medium=facebook

No comments:

Post a Comment