Friday, August 26, 2011

एशियन लाइफमाथि कारबाही

अभियान संवाददाता
भदौ ७, काठमाडौं । निर्देशनविपरीत लाभांश बाँड्ने निर्णय गरेको आरोपमा बीमा समितिले एशियन लाइफ इन्स्योरेन्सको व्यवसायमा आंशिक रोक लगाएको छ । समितिले कम्पनीको 'सुखी बीमालेख' व्यवसायमा रोक लगाइएको हो । तर, समितिले लगाएको रोक अन्यायपूर्ण भएको एशियनका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको भनाइ छ । 'समितिकै स्वीकृतिबमोजिम नगद लाभांश बाँड्ने प्रस्ताव साधारणसभाले पारित गरेकाले कारबाही न्यायोचित छैन,' उनले भने ।

एशियन लाइफलाई बीमा ऐन २०४९ को दफा १२ (क), १ अनुसार कारबाही गरिएको समितिले बताएको छ । 'उक्त दफाको खण्ड 'क' बमोजिम समितिको निर्देशन उल्लङ्घन गरेकाले व्यवसायमा आंशिक रोक लगाइएको छ,' समितिका कानून तथा नियमन महाशाखा प्रमुख शेखरकुमार अर्यालले भने, 'बीमा बजारको विश्वसनीयता र नियामकको साखका लागि यस्तो कदम उठाइएको हो । समितिले एशियनको उक्त बीमालेख व्यवसायमा भदौ ८ बाट लागू हुने गरी रोक लगाएको हो । यसबारे जानकारी गराउँदै समितिले कम्पनीलाई बुधवार दिउँसो ४ बजे पत्र काटेको छ ।

आव २०६६/६७ को नाफाबाट शेयरधनीहरूलाई २८ दशमलव १५ प्रतिशत नगद लाभांश बाँड्ने सञ्चालक समितिको प्रस्ताव कम्पनीको गत असार १७ गतेको साधारणसभाले पारित गरेको थियो । 'गत वैशाख २६ मा कम्पनीको वित्तीय विवरण पास गर्दा बीमाङ्कीको प्रतिवेदन स्वीकृत नभई नगद लाभांश वितरण नगर्न निर्देशन दिएका थियौं,' अर्यालले भने, 'तर, सो निर्देशनविपरीत कम्पनीको सञ्चालक समितिले निर्णयगरी साधारणसभामा प्रस्ताव लग्यो र त्यसलाई पारित पनि गर्‍यो । यसले बीमा ऐनलाई मिचेको छ ।'

तर, एशियनका भट्टराई भन्छन्, 'समितिले गत वैशाखमा स्वीकृत गरेको वित्तीय विवरण नगद लाभांशसहितको थियो, जसलाई साधारणसभा प्रयोजनका लागि पनि स्वीकृत गरिएको हो ।' समितिले वित्तीय विवरण स्वीकृत गर्दा बीमाङ्कीको प्रतिवेदन पास भएपछि नगद लाभांश बाँड्नु भनेको उल्लेख गर्दै उनले कम्पनीको बीमाङ्कीको प्रतिवेदन दुई हप्ताअघि स्वीकृत भइसकेको तर पनि अझैसम्म लाभांश नबाँडिएको समेत जानकारी दिए । 'त्यसैले साढे १७ हजार शेयरधनीको हितमा काम गर्न खोज्दा नगरेको कसुरमा कारबाहीमा परियो ।' उनको भनाइ छ ।

लाभांश नबाँड्दै कारबाही गरिनु न्यायोचित नभएकाले रोक्का फुकुवा गर्न समितिलाई आग्रह गरिने बीमक सङ्घका अध्यक्षसमेत रहेका भट्टराईले बताए । तर, कम्पनीले आगामी दिनमा निर्देशन उल्लङ्घन नगर्ने गरी समितिलाई विश्वास दिलाउन नसकेसम्म कारबाही फुकुवा नगरिने अर्यालको स्पष्टोक्ति छ ।

कम्पनी ऐनले पनि साधारणसभा भएको ४५ दिनसम्म लाभांश बाँड्न बन्देज गरेको छ । तर, कम्पनी रजिष्ट्रारले लाभांश वितरण गर्ने अनुमतिपत्र दिइसकेको एशियनस्रोतको दाबी छ । त्यसैले, एउटा नियामकबाट स्वीकृति लिइसकेपछि अर्कोबाट लिन आवश्यक नरहेको जिकीर गर्दै एशियनले लाभांश बाँड्ने सूचना पत्रपत्रिकामा प्रकाशित गरेको थियो । त्यसपछि लाभांश बाँड्ने निर्णयरोक्न समितिले कम्पनीलाई निर्देशन दिएको थियो ।

तर, 'एउटा नियामकबाट स्वीकृति पाइसकेपछि पनि साधारणसभाबाट पारित गरेको निर्णयाई बीमा समितिले रोक्न खोज्यो' भन्ने भ्रामक सूचनायुक्त विज्ञप्ति पनि कम्पनीले प्रकाशित गरेको र यसले समितिको प्रतिष्ठामा आँच पुर्‍याएको अर्यालको गुनासो छ । 'बीमा समितिले हालसम्म कम्पनीहरूले गर्दै आएको गल्तीमा सुधारात्मक कदम मात्रै चाल्दै आएको थियो,' उनले भने, 'अब भने समिति बीमा कम्पनीहरूउपर ठोस कारबाहीमा जान सक्छ भन्ने सङ्केत पनि हो यो ।' बजार स्थायित्वका लागि पनि यस्तो कारबाही गर्नु आवश्यक भएको अर्यालको भनाइ छ ।

एशियनले २०७० सालसम्ममा चुक्ता पूँजी रू. ५० करोड पुर्‍याउनुपर्ने शर्तमा बीमा व्यवसाय गर्ने स्वीकृति २०६४ सालमा पाएको हो । हालसम्म चुक्ता पूँूजी अनुमति दिँदाकै करीब रू. ३६ करोडमात्र भएकाले यसलाई नबढाई लाभांश बाँड्नु उचित नभएको पनि समितिको भनाइ छ ।

समितिले यसअघि विसं २०५६ मा तत्कालीन नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्सको अग्नि बीमा कारोबारमा रोक लगाएको थियो । त्यसपछि नेशनल इन्स्योरेन्स (निर्जीवन)को सामुद्रिक बीमा व्यवसायमा र त्यसको केही वर्षपछि एलिकोको एउटा बीमालेखमा रोक लगाएको थियो । २ वर्षअघि नेशनल लाइफ इन्स्योरेन्स पनि समितिको कारबाहीमा परेको थियो । सो कम्पनीको खाता रोक्का गर्दै करीब ५ महीना आर्थिक कारोबारमै रोक लगाइएको थियो ।

http://www.abhiyan.com.np/newspage-2141-एशियन%20लाइफमाथि%20कारबाही

No comments:

Post a Comment