Sunday, August 28, 2011

बाबुराम भट्टराई फेरि प्रथम

काठमाडौँ, भदौ ११ (नागरिक)- गोरखाको अमरज्योति हाइस्कूलमा सधैँ प्रथम हुने बाबुराम भट्टराई २०२६ सालको एसएलसीमा बोर्ड फस्ट भएका थिए। सधैँ प्रथम र कहिलै दोस्रो नहुने भनेर चर्चा पाएका भट्टराई माओवादी पार्टीको उच्च पदमा छैनन्। तर अध्यक्ष पुष्पकमल दाहाल ७ पटक हारेको संसदमा बाबुराम भट्टराई एकै पटकमा विजयी हुँदै प्रधानमन्त्री बन्न सफल भए। को हुन् बाबुराम ?
बाबुरामको जन्म वि.सं. २०११ सालमा गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा भएको हो। नेपालबाट राजतन्त्र उन्मुलन गर्न मुख्य भूमिका निर्वाह गरेका कम्युनिस्ट नेता भट्टराईको परिवार इतिहास राजदरबारसँगै जोडिएको छ। प्रधानमन्त्री भट्टराईका पुर्खा पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी हुन्। १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइ सरेको भट्टराई परिवारले द्रब्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन मुख्य भूमिका निर्वाह गरेको थियो। लिगलिग कोटको फेदीमा रहेको बेलबासमा खेतीपाती गरेर बसेको त्यही भट्टराई परिवार नै प्रधानमन्त्री बाबुरामका पुर्खा हुन्। नेपालको मध्य पहाडी क्षेत्रमा रहेको यही स्थानमा बाबुराम भट्टराईको जन्म भएको हो। भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट जन्मिएका उनी दोस्रो सन्तान हुन्।

किसान परिवारमा जन्मिएका भट्टराईको प्रारम्भिक शिक्षा भोजबहादुर भुजेलसँग अनौपचारिक रुपमा लिएका हुन्। अमरज्योती हाइस्कूलमा एकै पटक कक्षा ३ मा भर्ना भएका उनी विद्यालयमा सधैँ प्रथम रहे। लुइँटेल गाउँस्थित यो स्कूल पुग्न भट्टराई दैनिक २ घण्टा हिँड्थे। २०२६ सालको एसएलसी परिणामले धेरैलाई चकित पार्‍यो। एसएलसीमा त्यो साल बाबुराम भट्टराई नेपालभरिका विद्यार्थीलाई पछि पार्दै बोर्ड फस्ट भए। अमृत साइन्स कलेजमा आइएस्सी अध्ययन गरेका बाबुरामले प्रविणता प्रमाणपत्र तहमा पनि प्रथम स्थान नै हाँसिल गरे। सन् १९७७ मा कोलम्बो प्लान पाउन सफल उनले कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चर इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी गरेका छन्। 'द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल' विषयमामा उनले गरेको थेसिस पुस्तकको रुपमा पनि प्रकाशित छ।

सन् १९७७ मा अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष बनेका बाबुरामले भारत रहँदा वीपी कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाह लगायतका नेताहरुसँग सम्पर्कमा रहेर नेपालको लोकतान्त्रिक आन्दोलनमा आफ्नो सक्रियता बढाएका हुन्। पञ्चायतविरोधी प्रखर युवाको रुपमा चिनिएका बाबुरामलाई सन् १९८० मा नयाँ दिल्ली भ्रमणमा आएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाउँदा भारतीय प्रहरीले पक्राउ गरेको थियो।

मोहनविक्रम राजनीतिक गुरु
सन् १९८१ मा उनी मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका हुन्। औपचारिक शिक्षा सकेपछि भट्टराई सन् १९८६ मा नेपाल फर्किए र पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बनेर सक्रिय रहे। सन् १९९० को पञ्चायतविरोधी जनआन्दोलनको बेला उनी 'संयुक्त राष्ट्रिय जनआन्दोलन'का केन्द्रीय प्रवक्ता थिए।

जनयुद्ध अवधारणाकार
नेकपा माओवादीले सन् १९९६ देखि २००६ सम्म सञ्चालन गरेको जनयुद्धको बाबुराम भट्टराई एकजना मुख्य अवधारणाकार हुन्। जनयुद्ध छाडेर शान्ति र संविधानमार्फत् रुपान्तरण हुनुपर्छ भन्ने माओवादीको पछिल्लो अवधारणा पनि बाबुरामकै हो। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उपाध्यक्ष तथा स्थायी समिति सदस्य नेता भट्टराई आफ्नो राजनीतिक तथा बौद्धिक सक्रियताका कारण बहुपरिचित छन्। आलोचकहरु भन्छन्- भाषण गर्न सिपालु भए पनि उनी अन्तरमुखी छन्; पुस्तक पढेको सैद्धान्तिक ज्ञान भए पनि अव्यवहारिक छन्। तर समर्थकहरु ठान्छन्- नेपालको मुहार फेर्ने भिजन बाबुरामसँग छ; उनले केही गर्छन्।

No comments:

Post a Comment