Friday, August 26, 2011

बिमा समितिद्वारा एसियनलाई कारबाही

काठमाडौं, ७ भदौ

बिमा समितिले एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । समितिले एसियनलाई कारबाही स्वरूप कम्पनीले बिक्री गर्दै आएको सार्वधिक जीवन बिमालेखअन्तर्गत सुखी जीवन बिमालेख जारी गर्न रोक लगाएको छ ।

समितिले तत्काल लाभांश बाँड्न सर्त तोक्दै साधारणसभा गर्न अनुमति दिए पनि एसियनले समितिबाट लाभांश बाँड्ने अनुमति पाएजस्तो गरी साधारणसभामा प्रस्तुत हुनुका साथै समितिको निर्देशनको उल्लंघन भएको ठहर गर्दै कारबाही गरेको हो ।

समितिका प्रवक्ता शेखर अर्यालले समितिबाट स्वीकृति नलिई लाभांश दिने भन्दै लगानीकर्ता र बिमितलाई समेत अन्योलमा पार्ने गरी काम गरेकाले कारबाही गर्नुपरेको बताए । उनले समितिले पहिलो चरणमा सांकेतिक कारबाही स्वरूप बिमकको व्यवसायमा आंशिक रोक लगाइएको बताए । आवश्यक परे थप कारबाही गर्न सकिनेसमेत समितिले जनाएको छ । समितिको हालै बसेको सञ्चालक समितिले एसियनलाई कारबाही गर्ने निर्णय गरेको थियो । कारोबारले यसअघि एसियनले घोषणा गरी साधारणसभाले पारित गरेको नगद लाभांश प्रचलित मान्यताविपरीत रहेको सार्वजनिक गरेको थियो । जीवन बिमा कम्पनीले बिमांकीय मूल्यांकनअघि कुनै पनि प्रकारको लाभांश घोषणा गर्न पाउँदैनन् । समितिले अर्को निर्णय नभएसम्म कम्पनीले घोषणा गरेको लाभांश वितरणका लागि स्वीकृति दिन नसकिनेसमेत जनाएको छ ।

कम्पनीले पटक–पटक बिमा समितिको स्वीकृति लिएर लाभांश घोषणा गरी नियामक निकायमाथि नै जनमानसमा नकारात्मक धारणा फैलाउन उद्यत् रहेपछि कारबाही गर्नुको विकल्प नरहेको जनाएको छ । दुई साताअघि समितिले समितिकै काम कारबाहीप्रति शंका उब्जने गरी गरिएको प्रचार–प्रसारप्रति असन्तुष्टि जनाउँदै कारोबारमा किन रोक नलगाउने भन्दै कम्पनीसँग स्पष्टीकरण मागेको भए पनि चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको हो ।

http://www.karobardaily.com/news/10182

No comments:

Post a Comment