Tuesday, August 16, 2011

बीमा व्यवसायका चुनौती

चन्द्रसिंह साउद
विविध चुनौतीको सामना गर्दै बीमा व्यवसाय विकासको शिखर चुम्नेतर्फ लम्किरहेको छ । १६-१७ अर्ब रुपैयाँबराबरको पूँजी परिचालन, कुल गार्हस्थ्य उत्पादनमा गैरकृषितर्फ२ प्रतिशतको हाराहारीमा पुर्याएको योगदान, प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ७५ हजारलाई रोजगारी प्रदान र ६७ जिल्लामा भएको उपस्थिति बीमाक्षेत्रको प्रगति हो । पछिल्ला दिनमा मुलुकका आर्थिक सूचकाङकहरू सङ्कुचनोन्मुख भइरहेको अवस्थामा पनि आफ्नो बजार विस्तार गर्न सक्नु चानचुने कुरा होइन । देशमा छरिएर रहेको ससानो पूँजीलाई एकत्रित गरी मोटो रकम सरकारले भनेका ठाउँमा लगानी गरेको छ । यसबाट प्रत्यक्ष रूपमा अर्थतन्त्रलाई टेवा पुगिरहेको र अनौपचारिक क्षेत्रको पैसालाई बीमाका माध्यमबाट औपचारिक च्यानलमा ल्याइरहेको वर्तमान अवस्था राष्ट्रकै लागि सुखद् कुरा हो ।

बीमा क्षेत्रमा कमजोरी र सबल दुवै पक्ष छन् । दक्ष जनशक्तिको चरम अभावमा पनि यहाँसम्मको सफलता उल्लेख्य भएको बीमाविज्ञहरूको तर्क छ । त्यसैगरी, जनचेतनाको अभाव पनि बीमाक्षेत्रमा नभएको होइन । पछिल्लो समय बीमाक्षेत्रमा उल्लेख प्रगति भइरहेको छ । बैङ्किङ क्षेत्रमा निक्षेप नआइरहँदा पनि बीमा कम्पनीहरूको प्रिमियम बढिरहेको छ । मुलुकका समग्र आर्थिक सूचकाङ्कहरू सन्तोषजनक नभएको अवस्थामा बीमाक्षेत्रको अवस्था सन्तोषजनक रहन सक्नुले यस क्षेत्रको प्रगति भएको मान्न सकिन्छ । दीर्घकालीन रूपमा जोखिम बहन गर्न सक्ने वित्तीय सुरक्षासहितको व्यवस्था हो बीमा, जुन मानवीय जीवनका लागि अति आवश्यक छ । विकसित देशहरूमा बीमा अनिवार्य भइसकेको छ । तर, नेपालजस्तो अविकसित देशका जनतालाई गाँस, बास र कपासजस्ता आधारभूत कुराहरू पूरा गर्न हम्मेहम्मे परिरहेको अवस्थामा पनि ५-६ प्रतिशत जनसङ्ख्याले बीमा गर्नु सुखद कुरा हो । बाँकी रहेको ९४/९५ प्रतिशतमा तीव्र रूपमा बजार विस्तारको सम्भावना छ ।

बीमा कम्पनीहरूको लगानी सुरक्षाका सन्दर्भमा सरकार र व्यवस्थापनले जोड दिनै पर्छ । बीमाक्षेत्रमा देखिन थालेको संस्थागत सुशासनको अभावलाई तत्काल निर्मूल गर्नु अहिलेको मुख्य चुनौती हो । यसमा बीमा समिति र बीमा कम्पनीहरूले आफूभित्र भएका आन्तरिक समस्याका बारेमा खुलेर छलफल, बहस गरेर समाधान गर्न सकिन्छ ।

बीमा व्यवसायको विश्व इतिहास निकै लामो भए पनि नेपालमा त्यति लामो छैन । विसं २००४ मा नेपालमा नेपाल बैङ्कको ५१ प्रतिशत शेयरस्वामित्वमा स्थापना भएको नेपाल इन्स्योरेन्सले बीमा व्यवसायको शुरू गरेको हो । आर्थिक गतिविधिहरूको बढोत्तरीसँगै जोखिम पनि बढ्न थालेपछि, जोखिम न्यूनीकरणको उपायस्वरूप बीमाको आवश्यकता महसूस हुँदै गयो । २००४ सालदेखि शुरू भएको निर्जीवन बीमाको दायरा फराकिलो हुँदै व्यवसायको ढोका पनि खुल्यो । नियमनका लागि २०२७ सालमा बीमा समिति स्थापना भयो । जीवन बीमाको विकासक्रममा विसं २०४० देखि २०५० सालसम्मको अवधि अत्यन्तै महत्त्वपूर्ण छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले अँगालेको उदार अर्थव्यवस्थाका कारण मुलुकमा आर्थिक गतिविधि ह्वात्तै बढयो । उद्योगधन्दा, कलकारखाना, बैङ्किङ क्षेत्रको तीव्र रूपमा विकास भयो । मुलुकमा लगानीका पर्याप्त अवसरहरू आए । लगानीकर्ताहरू उत्साहित भए । रोजगारीका अवसर पर्याप्त सृजना भए । त्यसैले जीवन तथा निर्जीवन बीमा कम्पनी खोल्नेक्रम तीव्र रूपमा अघि बढयोे । बीमा व्यवसायले मौलाउने सुनौलो अवसर पायो । हाल जीवन र निर्जीवन गरी २५ ओटा बीमा कम्पनी सञ्चालनमा छन् । जीवनबीमा क्षेत्रको उल्लेख्य विकास भने विसं २०६० को दशकमा भएको छ । यो बीमाक्षेत्रका लागि निकै महत्त्वपूर्ण कुरा हो र प्रगति पनि ।

पछिल्लो समयमा बैङ्क तथा वित्तीय संस्थाहरू तरलता अभावलगायतका समस्याले ग्रसित भएपछि निर्जीवन बीमाको व्यवसायमा नकारात्मक असर परेको छ । लगानीयोग्य रकमको अभावसँगै बैङ्किङ क्षेत्रले सवारीसाधन, घरलगायतको कर्जामा कडाइ गरेपछि निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय प्रभावित बनेको छ । बैङ्कबाट कर्जा लिएर खरीद गरिएका त्यस्ता साधनको बैङ्कले अनिवार्य बीमा गर्ने व्यवस्था गरेका कारण कुल व्यवसायको आधाजति बैङ्कमार्फत आउँथ्यो । बैङ्कमार्फत यो वर्ष कमैमात्र व्यवसाय आएको छ । सानो आकारको व्यवसाय र बढी कम्पनीहरूका कारण निर्जीवन बीमा व्यवसायमा पनि व्यापक रूपमा अस्वस्थ प्रतिस्पर्धा भएको स्वीकार नगर्ने कमै मात्र छन् ।

समस्या र चुनौती
बीमा कम्पनीबीच स्वच्छ प्रतिस्पर्धा हुन नसक्नु यस क्षेत्रको सबैभन्दा ठूलो समस्या हो । पारदर्शिताको कमी, बीमा दाबी भुक्तानीमा ढिलासुस्ती, वास्तविक नोक्सानीभन्दा बढी रकमको दाबी गर्नु आदि यस क्षेत्रका अन्य समस्या हुन् । बीमा ऐन-नियममा समयानुसार परिमार्जन हुन नसक्नु, ग्रामीण क्षेत्रमा सेवा विस्तार हुन नसक्नु, जनचेतनाको कमी, दक्ष जनशक्तिको अभाव, नियमनकारी निकायको सक्षमता वृद्धि नहुनु पनि बीमाबजारका प्रमुख समस्या हुन् । नेपाली बीमालाई अन्तरराष्ट्रिय मापदण्डअनुसार विकास गर्नु, निर्जीवन बीमालाई आर्थिक क्षति व्यवस्थापन गर्ने गरी व्यापक बनाउनु, जीवन बीमालाई आर्थिक सुरक्षाका साथै बचत र लगानीका रूपमा स्थापित गर्नु, बीमा सबैका लागि भन्ने अवधारणालाई सही रूपमा कार्यान्वयन गर्नु यस बजारका चुनौती हुन् । नेपालको बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमितको हकहित संरक्षण गर्नु आवश्यक छ । त्यसका लागि बीमा व्यवसायलाई व्यवस्थित, नियमित र विकसित गर्ने, बीमाको माध्यमबाट नेपालको अर्थतन्त्रको दिगो विकासमा टेवा पुर्याउने मूल गन्तव्यका साथ सरकारले आफ्नो गतिविधि केन्द्रित गर्नुपर्ने
चुनौती छ ।

आगामी रणनीति
बीमासम्बधी अन्तरराष्ट्रिय मापदण्डका आधारमा नेपालको बीमाक्षेत्रको मूल्याङ्कन गरी विस्तृत कार्ययोजना तयार पारिएको छ । सोबमोजिम बीमाको स्तरवृद्धिसँग सम्बन्धित प्रणालीहरू विकास गर्न ग्रामीण क्षेत्रका न्यून आय वर्ग तथा समाजको सबै तहका लागि उपयुक्त बीमा सेवाहरूको विस्तार गर्नु आवश्यक छ । साथै, बीमितको हकहित संरक्षण सुनिश्चित गर्ने रणनीति तर्जुमा गर्न विस्तृत योजना बनाई बीमालाई जनजीवनको अभिन्न अङ्ग बनाउने गरी नीतिगत, संस्थागत र संरचनागत सुधारलगायतका कार्य गर्नुपर्ने छ । यसमा बीमा व्यवसायको विकास तथा विस्तारका साथै ग्रामीण जीवन र अर्थतन्त्रमा मद्दत पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम समेटिनुपर्दछ । बीमा ऐन २०४९ लाई प्रतिस्थापन गर्ने, अन्तराष्ट्रिय स्तरका प्रणाली विकास गरी प्रदान गर्ने काम गर्नुपर्ने छ । बीमाक्षेत्रको विद्यमान सेवा विस्तार गर्ने र बीमा उद्योगका लागि आवश्यक जनशक्ति तयार गर्ने काम पनि प्राथमिकतामा पर्नुपर्छ । बीमासम्बधी अध्ययनका लागि पिछडिएका वर्गलाई छात्रवृत्ति प्रदान गर्नु तथा बीमालाई विद्यालयस्तरको शैक्षिक पाठयक्रममा समावेश गर्नु आवश्यक छ । लघुबीमाको माध्यमबाट ग्रामीण क्षेत्र तथा न्यून आयवर्गका मानिसमा बीमाको सेवा विस्तार गर्न वैकल्पिक वितरण प्रणालीको विकास गर्ने काम गर्नुपर्छ । त्यस क्षेत्रमा प्रभावकारी जनचेतना कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक छ । यस क्षेत्रमा कानूनी तथा संस्थागत सुधार गर्ने काम गर्नुपर्ने छ । बीमा कोषलाई सुरक्षित क्षेत्रमा लगानी गर्ने वातावरणको विकास गर्नुपर्ने देखिन्छ ।

नेपालको बीमा व्यवसायको औपचारिक इतिहास ६४ वर्षको छ । बीमाक्षेत्रलाई सुदृढ, सूक्ष्म, सुरक्षित र मर्यादित बनाउन गर्नुपर्ने कार्य धेरै छन् । नीतिगत तहमा संस्थागत सुशासन सुधारका कार्य अझै अपुग छन् । यसका साथै अन्तरराष्ट्रिय नियमनकारी निकायहरूसँग समन्वय गरी यसको सम्बन्ध गाढा बनाउँदै लैजानु पनि प्रमुख कार्य छ । बीमा व्यवसायलाई अन्तरराष्ट्रिय तहमा समकक्षी बनाउनेतर्फहाम्रो ध्यान जानु नितान्त आवश्यक छ । एक दिन, एक महिना र एक वर्षको कामले मात्र कुनै कार्य साध्य छैन । यसका लागि सकारात्मक विचार, अनुशासन, इमानदारी, लगनशीलता, पारदर्शिता आदिको निरन्तर अभ्यास आवश्यक पर्दछ ।
लेखक नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका कामु नायब महाप्रबन्धक हुन् ।

http://www.abhiyan.com.np/article-dristikon_30_shrawan

No comments:

Post a Comment