Friday, September 10, 2010

बिमा कम्पनीको जोखिम विवरण बनाइने

काठमाडौ, भाद्र २४ -
बिमा कम्पनीको जोखिम विवरण -रिस्क प्रोफाइल) तयारी गरिने भएको छ ।

बिमा कम्पनीसँग सम्बन्धित विभिन्न सूचकांकलाई आधार मानेर विवरण तयार हुनेछ । 'पहिलोपटक यस प्रकारको विवरण तयार गर्न लागेका हौं,' बिमा समितिका उपनिर्देशक शेखरकुमार अर्यालले भने, 'कम्पनीको अवस्थाबारे थाहा पाउन यो अन्तर्राष्ट्रियस्तरमै प्रयोगमा छ ।'

कारोबारदेखि व्यवस्थापनसम्मको आधारमा कम्पनीको स्वास्थ्य यस विवरणले समेट्नेछ । लगानीकर्ता, ग्राहक, कम्पनी र नियामक सबैलाई यस विवरणले आवश्यक सुधारबारे जानकारी दिने गर्छ । 'केही वर्षअघिबाटै यो काम सुरु गर्ने तयारीमा थियौं,' अर्यालले भने, 'सहयोग नआएपछि आफैं गर्ने भएका हौं ।' अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरु गर्न विदेशीको सहयोग आउने आस समितिको थियो । 'विश्व आर्थिक मन्दीलगायत असरले होला अहिले विदेशीले सहयोग गरेका छैनन्,' उनले भने । कम्पनीहरूको सम्पूर्ण जानकारी हुने भएकाले यसमा समिति बाहिरको विशेषज्ञ प्रयोग नगरिने उनले बताए ।

सञ्चालनमा रहेका कम्पनीले पनि यस्तो विवरणले सुधारमा सहयोग पुर्‍याउने बताएका छन् । 'अहिलेसम्म हामीलाई यस्तो विवरण तयार गर्नेबारे जानकारी आएको छैन,' बिमक संघका उपाध्यक्ष रमेशकुमार भट्टराईले भने, 'तर काम भए सबैलाई फाइदा हुनेछ ।' प्रत्येक तीन वर्षमा हुने बिमांकीय मूल्यांकनपछि मात्र कम्पनीको वास्तविक अवस्थाबारे जानकारी हुने गरेको छ । 'अहिले कम्पनीलाई ३ वर्षसम्म आफ्नो अवस्था कस्तो छ भन्ने थाहा हुँदैन,' भट्टराईले भने, 'यस्तो मापदण्ड तयार हुन सके आफैं पनि जाँच्न सकिनेछ ।'

यस प्रकारको विवरण तयार गरेपछि समितिले नियमन पद्धतिलाई सुधार गर्न सहयोग हुने जनाएको छ । बिमितको हित र कम्पनीका लगानीकर्ताको सुरक्षाका लागि यस्तो विवरणले सजिलो बताउने अर्याल बताउँछन् ।

व्यवस्थापन, पुँजी संरचना, अन्डरराइटिङ, पुनर्बिमा, जनशक्ति, व्यवस्थापन पदाधिकारी सबैका बारेमा सूक्ष्म जानकारी विवरणमा उल्लेख हुने जनाइएको छ । 'व्ययवस्थापन प्रमुखको अनुभव कति छ देखि पहिले कुन कम्पनीका कस्तो काम गरेका छन् भन्नेसम्म जानकारी राखिनेछ,' अर्यालले भने ।

हाल बिमा समितिलाई त्रैमासिक रूपमा मात्र बिमा कम्पनीको विवरणबारे थाहा हुन्छ । त्यसले मुख्य वित्तीय अवस्थाबारे मात्र जानकारी दिन्छ । जोखिमको विवरणले भने कम्पनीको सम्पूर्ण स्वास्थ्यबारे जानकारी दिएर नियमन सजिलो हुनेछ । यसबाट समयमै कम्पनीलाई सुधार गर्न निर्देशन वा अन्य कदम चल्न सजिलो हुने समिति बताउँछ ।

कम्पनीहरू यस प्रकारको विवरण तयार गर्दा विदेशीको नक्कल मात्र गर्न नहुने बताउँछन् । 'हाम्रो बजार र अवस्थाबारे ध्यान राखेर काम अघि बढाउनुपर्छ,' भट्टराईले भने । समितिले पनि सोहीअनुरूप व्यवसायको प्रकृतिअनुसार यसलाई विकास गर्दै लैजाने तयारी गरेको छ । 'हामी काम गर्दै सिक्दै जाने प्रद्धतिबाट सुरु गरिरहेका छौं,' अर्यालले भने ।

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=225738

No comments:

Post a Comment