Friday, June 3, 2011

जीवन बीमाको गलत बुझाइ र यसको प्रवर्द्धन

ईश्वर सेडाईं
आमरूपमा जीवन बीमालाई मरेपछि पाइने सम्पत्तिका रूपमा बुझ्ने गरिन्छ । त्यसैले भन्ने गरिन्छ 'आफूले बीमा गरेको रकम आफैले उपभोग गर्न पाइँदैन भने बीमा किन गर्ने ? मरेपछि डुमै राजा ।' बीमा बुझ्ने र जान्ने मानिससमेत जीवन बीमामा लगानी गर्न अनुचितझैं ठान्छन् । लामो समयको अन्तरालपछि लगानी फिर्ता पाइने र सम्पत्ति प्राप्त हुने अवस्थासम्म बुढेसकालले घेर्ने हुनाले त्यसको खासै प्रयोजन नहुने उनीहरूको तर्क छ । यस्ता असान्दर्भिक तर्क जीवन बीमाको वास्तविक उपलब्धिलाई सही रूपमा बुझ्न नसकेर मात्र भइरहेका छन् ।

जीवन बीमामा गरिएको लगानीको प्रतिफल बाँच्दा पनि र मृत्यु हुँदा पनि पाइन्छ । जीवन बीमालाई जीवनको आवश्यकता ठानेर सही समयमा बीमा गर्ने हो भने न लामो समयको अन्तराल नै कुर्नुपर्छ, न बुढयौली उमेरको नै अनुभव गर्नुपर्छ । युवावस्थामा नै बीमामा गरेको लगानीको प्रतिफल प्राप्त गर्न सकिन्छ । कतिपय मानिस मृत्युपछि आनन्द हुने ठान्छन्, तर जीवनको मूल्याङ्कन जीवन रहँदा मात्र हुने हो । त्यसैले हरेक व्यक्ति वा परिवारले युवावस्थामा अझ भनौं बालबच्चाको हकमा जन्मेपछि बीमा गर्नेतर्फअग्रसर हुनुपर्दछ । खासमा जीवन बीमाका लाभलाई सही रूपमा बुझ्न सकिएमा त्यसबाट बीमाको आवश्यकता महसूस हुन्छ ।

जीवन बीमामा लगानी गर्दा बीमा गर्ने व्यक्तिको मात्र होइन, समस्त परिवारको व्यवस्थापन गर्न सकिन्छ । किनभने जीवन बीमा राम्रो आर्थिक योजना हो । बीमामा कुनै ठूलो रकम एकमुष्ट लगानी गर्नुपर्दैन । थोरै रकम निश्चित अवधिसम्म किस्ताकिस्तामा तिरे पुग्छ । पछि गएर सोही रकम अपत्यारिलो आम्दानी बन्नपुग्छ । त्यो रकम पारिवारिक व्यवस्थापन गर्ने दरिलो आधार बन्छ । साथै, बीमामा गरिएको सानो लगानीले आशातीत पूँजी जुटाउने कार्यमा सघाउ पुग्दछ । त्यसैले जीवन बीमामा लगानी गर्ने हरेक व्यक्तिको आर्थिक भविष्य सुरक्षित भइरहेको हुन्छ ।

आम मानिसलाई सोध्नुस्, जीवनको मूल्यवान् सम्पत्ति के हो ? धेरै मानिसको जवाफ आउँछ, बैङ्कमा भएको निक्षेप, घर, कार, सुन, चाँदी आदि । मेरो विचारमा यो जवाफ त्यति तर्कसङ्गत छैन । मुख्य कुरा त मानिसको आम्दानी गर्ने क्षमता सबैभन्दा ठूलो सम्पति हो । मानिसले जति सम्पत्ति जोडेको हुन्छ, त्यो उसको आम्दानी गर्ने क्षमताको कारणले हो ।

तपाईं कल्पना गर्नुस् त, यदि तपाईंको जीवनमा प्रतिकूल अवस्था आयो र आम्दानी ठप्प भयो भने के हुन्छ ? जीवन सञ्चालनका लागि भएभरको सम्पत्ति बेच्नुपर्ने हुन्छ । त्यसबाट जीवन नै डामाडोल हुन पुग्दछ । त्यसैले जीवनमा आम्दानीको क्षमतालाई ऊर्जाशील र भयमुक्त बनाउन जीवन बीमा अपरिहार्य आवश्यकता हो । किनभने जीवन बीमाले जोखिमविरुद्ध संरक्षण प्रदान गर्छ भने मृत्युपछि पनि लाभदायक परिणाम दिन्छ ।

मानिसको जीवन सधैं एकनासले चल्छ भन्ने छैन । जीवनमा अनेक उतारचढाव आउँछन् । जीवनमा कतिपय अवस्थामा अकल्पनीय घटनासमेत हुन सक्छ । एक व्यक्तिका कारण परिवारका सम्पूर्ण सदस्यलाई आर्थिक समस्याले पिरोल्न सक्छ । यस्तो बेलामा जीवन बीमा गरिएको छ भने आर्थिक समस्या टार्न बीमा रकमले ठूलै राहत प्रदान गर्छ । दुर्घटनामा परिहाले बीमा रकमका अतिरिक्त सोहीबराबर थप रकम परिवारका व्यक्तिले प्राप्त गर्ने हुनाले बाँच्नेहरूको भविष्य अनिश्चित हुन पाउँदैन ।

तर, यसका लागि बीमा गर्ने व्यक्तिले केही कुरामा भने अवश्य ध्यान दिनुपर्दछ । सक्षम र उत्कृष्ट व्यवस्थापन, सरल दाबी भुक्तानी, लगानीकर्ताहरूको व्यावसायिक प्रतिबद्धता, बीमा गर्नेहरूप्रति सरल र इमानदार व्यवहार, कानूनी व्यवस्थाको सही रूपमा र संस्थागत सुशासनको निष्ठापूर्वक परिपालना गर्ने जीवन बीमा कम्पनी तपाईंले छनोट गर्नुपर्छ । मुख्य कुरा सेवाको प्रभावकारिता सँगसँगै सुविधा र सरलीकृत योजना भएको कम्पनी छनोट गर्न सकिएमा मात्रै बीमा गर्नेको वास्तविक हित हुन्छ । बीमाका मूल्यमान्यताहरूप्रति प्रतिबद्ध कम्पनीमा गरिएको जीवनबीमा लगानीले तपाईंलाई सदैव खुशी र आर्थिक भविष्यको सुमार्गमा उभ्याइरहेको हुन्छ ।

हामीले बुझ्नुपर्दछ कि जीवन बीमाले मृत्युलाई संरक्षण गर्न सक्दैन तर आर्थिक सुरक्षा भने अवश्य प्रदान गर्छ । आफ्नो आम्दानीलाई संरक्षण प्रदान गर्छ । जीवन बीमामा गरिएको लगानी कुनै पनि अवस्थामा जोखिममा पर्दैन । जीवन बीमाको एउटा योजनाले बहुलाभ प्राप्त भइरहेको हुन्छ । जस्तो कि- कर लाभ, ऋण सुविधा, आर्थिक सुरक्षाको प्रत्याभूति, जाखिम हस्तान्तरण आदि ।

जीवन बीमाका लाभलाई आम मानिसको पहुँचमा पुर्याउन बीमा कम्पनीहरूले विविध प्रकारका योजना अगाडि ल्याइरहेका छन् । ती योजना बालबच्चा, युवा, वयस्कसम्मका लागि परिलक्षित छन् । यस्ता योजना एकल रूपमा मात्र नभएर सामूहिक र संस्थागत आधारमा समेत तयार गरिएका छन् । जुनसुकै वर्ग र हैसियतका मानिससमेत यस प्रकारको योजनामा सहभागी भई लाभ लिन सक्छन् । यस्ता लाभ छोटो र लामो दुवै समयका लागि लिन सकिन्छ ।

बीमा योजना सरल, किफायती र लाभदायक हुँदाहुँदै पनि आम मानिसको ध्यान यसतर्फ प्रभावकारी रूपमा तानिन सकेको छैन । स्वतःस्फूर्त रूपमा जीवन बीमा गर्नुपर्छ भन्नेहरू औंलामा गन्न सकिने होलान् । अहिलेसम्मको अवस्था हेर्दा जीवन बीमामा देखिएको न्यून उपलब्धि बीमा कम्पनीको प्रयासले मात्र सम्भव भइरहेको छ भन्दा उचित नै हुन्छ ।

जीवन बीमाको वर्तमान अवस्थालाई हेर्दा जीवन बीमा कम्पनीहरूको व्यवसायका लागि मात्र हो भन्ने देखिएको छ । जीवन बीमा गर्नेहरूलाई बीमाकर्मीहरूले विश्वस्त तुल्याएर आकर्षित गर्नु परिरहेको छ । जीवन बीमाको आवश्यकताबोध गराउन बीमाकर्मीहरूले निकै प्रयत्न गरिरहेका छन् । तर पनि, बीमा गर्नेहरूले बीमा आफ्नो हित र फाइदाका लागि हो भन्ने अनुभूति गर्न नसकिरहेको देखिन्छ । यसो हुनुमा केही कारण छन्: पहिलो, जीवन बीमाको सन्दर्भमा राज्यले अनुकूल र यथोचित् नीतिगत व्यवस्था नगर्नु, दोस्रो, आम जनमानसमा जीवन बीमाप्रतिको सचेतनाको अभाव, तेस्रो, जीवन बीमाको क्षेत्रमा विदेशी कम्पनीको अनधिकृत प्रवेश । यस्ता कारणले नेपालका जीवन बीमा कम्पनीहरूले समस्या
झेल्दै आएका छन् ।

'बीमा म र मेरो परिवारको सुखद भविष्यका लागि' आवश्यक हो भन्ने महसूस गराउन सक्नुपर्ने दायित्व बीमाकर्मीहरूको हो । बीमाकर्मीहरू आफ्नो व्यावसायिक क्षेत्रमा निकै सक्रिय भएर लागेका छन् र केही हदसम्म उपलब्धि पनि हासिल गरेका छन् । मुख्य कुरा राज्यले नीतिगत तहबाट प्रभावकारी व्यवस्था गरी अनुकूल परिवेश तयार गर्नुपर्ने हुन्छ । त्यसो त बीमा व्यवसायको नियमनकारी निकायले बीमा कम्पनीलाई निर्देशित गर्ने मात्र होइन, यो व्यवसाय प्रवर्द्धनका निम्ति कानूनी तहबाट सुधारको पहल पनि गर्नुपर्छ । साथसाथै आम जनमानसमा बीमा सचेतना जगाई जीवन बीमातर्फ आकर्षित गर्ने कार्यक्रम अगाडि ल्याउनुपर्छ । किनभने बीमाप्रति मानिसको लगाव र विश्वास बढ्नु भनेको जनताको सुरक्षा र समृद्धि कायम हुनु हो ।

आम नागरिकको आर्थिक सुरक्षाका लागि जीवन बीमा प्रभावकारी बनाउने दायित्व राज्यको हो । नागरिकलाई आर्थिक असुरक्षाको महसूस हुन नदिन र निर्बाध रूपमा जीवनयापन गर्ने परिस्थिति तयार गर्न जीवन बीमाका हितकारी कार्यक्रम राज्यले ल्याउनैपर्ने हुन्छ । जीवन बीमा कम्पनीहरूलाई नागरिकको बीमा गर्ने अनुकूल कानूनी वातावरण तयार गर्ने दिशामा राज्यले ठोस कार्ययोजना अगाडि ल्याउनुपर्छ ।

जीवन बीमाप्रति राज्यको स्पष्ट दृष्टिकोण बन्न नसकिरहेका कारणले आम मानिस बीमाप्रति आश्वस्त हुन सकिरहेका छैनन् । जीवन बीमालाई राज्यले नीतिगत रूपमै सम्बोधन गरेर दूरगामी कार्यक्रमहरू ल्याउनुपर्छ । साथै, राज्य त्यस्ता कार्यक्रमको कार्यान्वयन र संरक्षणका लागि अग्रसर हुनुपर्छ । आर्थिक उन्नतिको महत्त्वपूर्ण आधार जीवन बीमा हो भन्ने कुरालाई राज्यले आत्मसात् गर्नुपर्छ । कम्तीमा पनि राज्यले जीवन बीमालाई आम जनताको पहुँचसम्म पुर्याउने व्यवस्थालाई नीतिगत तहमै व्यवस्था गर्न सक्ने हो भने त्यसबाट आमजनता जीवन बीमाको बृहत् क्षेत्रभित्र आबद्ध हुने कुरामा दुईमत छैन ।
लेखक अधिवक्ता हुन् । उनी सूर्य लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध छन् ।

Admin 2011-06-02

http://www.abhiyan.com.np/article-dristikon_19_jetha

No comments:

Post a Comment