Tuesday, July 26, 2011

एयरलाइन्सको पुनर्बीमाबापत वार्षिक ८० करोड विदेशिन्छ

साउन ९, काठमाडौं । नेपालमा सञ्चालित १४ ओटा निजी एयरलाइन्स कम्पनीबाट पुनर्बीमाबापत वार्षिक करीब रू. ८० करोड विदेशिने गरेको छ । नेपालका बीमा कम्पनीमार्फत विभिन्न एयरलाइन्सले जहाजको जोखिम वहन गर्न विदेशी कम्पनीमा गर्ने पुनर्बीमाका लागि सो रकम विदेशिने गरेको बीमा कम्पनीहरूले बताएका छन् । एयरलाइन्सहरूले आफ्ना एयरक्राफ्टको मूल्यअनुसार यस्तो बीमा गर्छन् । 'नेपालमा पुनर्बीमा कम्पनी नभएकाले एयरलाइन्सले तिरेको बीमाशुल्कको ९९ प्रतिशतभन्दा बढी रकम बाहिर जान्छ,' एभरेष्ट इन्स्योरेन्सकी सहायक महाप्रबन्धक रमा दाहाल (पोखरेल)ले भनिन् । उनका अनुसार नेपालका बीमा कम्पनीले आफ्नो क्षमताअनुसार जोखिम वहन गर्न नसक्ने रकमको शून्य दशमलव ५ देखि शून्य दशमलव ९ प्रतिशत मात्र राखेर बाँकी सबै रकम पुनर्बीमा कम्पनीलाई पठाउनुपर्छ । बीमा दाबी भएको अवस्थामा पुनर्बीमा गरिएका विदेशी कम्पनीबाट भुक्तानी हुने गर्छ ।

नेपालका निजी वायुसेवा कम्पनीहरूले आव ०६७/६८ मा रू. ९ अर्ब ४४ करोड ५३ लाख २० हजारको बीमा गरेका थिए । त्यसबापत ती विमान कम्पनीले रू. ६६ करोड ११ लाख ७२ हजार ४ सय प्रिमियम तिरेको नेपाल वायुसेवा सञ्चालक सङ्घले बताएको छ । सो रकमको ९९ प्रतिशत विदेशी बीमा कम्पनीले पुनर्बीमा गरेबापत लाने गरेका छन् । यसका अतिरिक्त नेपाल वायुसेवा निगम र नेपाली सेनाको हेलिकोप्टरको पुनर्बीमाबापतको रकम पनि जोड्ने हो भने त्यस्तो रकम वार्षिक करीब रू. ८० करोड पुग्छ । निजी वायुसेवा कम्पनीले अघिल्लो आव ०६६/६७ मा रू. १० अर्ब ९१ करोड ४१ लाख २० हजारको बीमा गरेका थिए । आव ०६६/६७ भन्दा आव ०६७/६८ मा बीमाको रकम घट्नुको कारण दुर्घटना परेर जहाज घट्नु र ह्रासकट्टी भएको सिम्रिक एयरलाइन्सका महाप्रबन्धक योगराज कँडेलले बताए ।

गत १ वर्षमा अग्नि, फिष्टेल र तारा एयरका एक/एक ओटा विमान दुर्घटनामा परेका थिए भने सिम्रिक एयरले एउटा हेलिकोप्टर विक्री गरेको थियो । एयरक्राफ्ट पुरानो हुँदै जाँदा मूल्याङ्कन घट्ने भए पनि पुनर्बीमा शुल्क भने बढ्ने वायुसेवा कम्पनीले बताएका छन् । वायुसेवा कम्पनीहरूले मूल्यको करीब ७ प्रतिशत बीमाबापत बीमा कम्पनीहरूलाई बुझाउँदै आएका छन् । कुनै वायुसेवा कम्पनीको जहाज दुर्घटनामा परी बीमा रकम दाबी गरिएको अवस्थामा जोखिम बढेको भन्दै अन्य वायुसेवा कम्पनीको बीमा शुल्क पनि पुनर्बीमा कम्पनीहरूले बढाउने गरेको कँडेलले जानकारी दिए ।

एकपटक बीमा रकम दाबी गर्ने कम्पनीले फेरि बिमा गर्दा झन् बढी रकम तिर्नु परेको पनि वायुसेवा कम्पनीको भनाइ छ । गत वर्ष दुर्घटनामा परेको अग्नि एयरले त्यसपछि करीब शतप्रतिशत बढी बीमाशुल्क तिर्नुपरेको सो एयरका बजार निर्देशक प्रमोद पाण्डेले बताए । 'बीमा
कम्पनीले पनि आफ्नो व्यापार गरिरहेका हुन्, त्यसैले, वायुसेवा कम्पनीले जति बढी रकम दाबी गर्छन् वार्षिक रूपमा तिनुपर्ने बीमा शुल्कसमेत सोही अनुपातमा बढ्दै जान्छ', यती एयरका ग्रूप कार्यकारी निर्देशक विजय श्रेष्ठले भने ।

७ महीनाअघि भएको तारा एयरको विमान दुर्घटनापछि उक्त एयरले पनि करीब शतप्रतिशत नै बढी बीमा शुल्क भुक्तानी गर्दै आएको सो एयरले बताएको छ । श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष वनवारीलाल मित्तलका अनुसार पुनर्बीमा कम्पनीले हरेक वर्ष लिने विवरणमा ५ वर्षभित्र विमान दुर्घटना भएको देखिएमा बीमा शुल्कबापतको रकम बढी लिन्छन् । मित्तलले नेपालमा पुनर्बीमा कम्पनी नभएकाले उनीहरूले तोकेको शुल्क तिर्न नेपाली वायुसेवा कम्पनी बाध्य भएको बताए ।

कम्पनीको नाम (प्रालि) बीमा रकम (डलरमा)
बुद्ध एयर ४,००,००,०००
तारा एयर १,५६,००,०००
यती एयरलाइन्स १,४०,००,०००
श्री एयर १,२५,००,०००
अग्नि एयर १,२५,००,०००
फिष्टेल एयर ८०,६०,०००
गुण एयर ५५,२५,०००
एयर काष्ठमण्डप ४९,००,०००
सिम्रिक एयर ४५००,०००
एयर डाइनेष्टी ४६,००,०००
सीता एयर ३२००,०००
गोमा एयर २५,००,०००
माउण्टेन हेलिकोप्टर १८,००,०००
मकालु एयर १५,००,०००
जम्मा १३,११,८५,०००


http://www.abhiyan.com.np/article-feature1_10_shrawan

No comments:

Post a Comment