Saturday, July 2, 2011

बीमा प्रवर्द्धकलाई दोस्रो बजारबाट शेयर किन्न रोक

मधुकर दहाल
असार १३, काठमाडौं । बीमा कम्पनीका प्रवर्द्धकहरूले अबदेखि दोस्रो बजारबाट आफ्नै कम्पनीको शेयर खरीद गर्न नपाउने भएका छन् । नियामक निकाय बीमा समितिले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिँदै परिपत्र जारी गरेको छ । 'अघिल्लो साता बसेको बीमा समितिको बोर्ड बैठकले गरेको निर्णयमोजिम बीमा कम्पनीहरूलाई गत शुक्रवार निर्देशन दिइएको हो,' समितिका प्रवक्ता शेखरकुमार अर्यालले भने ।

'बीमा कम्पनी पब्लिक लिमिटेड हुन् । तर, प्रवर्द्धकले दोस्रो बजारबाट शेयर खरीद गर्दै लगेपछि विस्तारै यो प्राइभेट लिमिटेडकै हैसियतमा जान्छ,' उनले भने, 'यो सर्वसाधारणको हितविपरीत भएकाले यसो नहोस् भन्नका लागि समितिले पछिल्लो कदम उठाएको हो ।' बीमा ऐन २०४९ अनुसार, बीमा व्यवसाय गर्ने कम्पनी अनिवार्य रूपमा पब्लिक लिमिटेड हुनुपर्ने छ ।

धितोपत्र कारोबारसम्बन्धी निर्देशिकाले प्रवर्द्धकलाई दोस्रो बजारबाट आफ्नो कम्पनीको शेयर खरीदमा रोक लगाएको छैन । तर, सो निर्देशिकाले सम्बन्धित कम्पनीका शेयर 'विक्री नभएको अवस्थामा' मात्र प्रवर्द्धकले दोस्रो बजारबाट खरीद गर्न पाउने व्यवस्था गरेको छ । यसो हुँदाहुँदै संस्थापकले सर्वसाधारणका तर्फबाट पनि चुनावमा उठी बोर्डमा प्रतिनिधित्व गर्न वा प्रभाव बढाउन दोस्रो बजारबाट शेयर किन्ने गरेको बीमा समितिको ठहर छ । यसलाई निरुत्साहित गर्न प्रवर्द्धकलाई दोस्रो बजारबाट आफ्नै कम्पनीको शेयर किन्न रोक लगाउन लागिएको अर्यालले बताए ।

समितिले हाललाई प्रवर्द्धकको आफ्नै नाममा दोस्रो बजारबाट किनिएका सम्बन्धित बीमा कम्पनीका शेयरको मात्र विवरण मागेको छ । तर, प्रवर्द्धकका परिवारका अन्य सदस्यको नाममा रहेका यस्ता शेयरको विवरण पनि माग्ने सम्भावना रहेको समितिस्रोतले बतायो ।

समितिले बीमा कम्पनीहरूलाई अन्य दुई निर्देशनसमेत दिएको छ । यसअनुसार, कम्पनीका प्रवर्द्धकहरूले दोस्रो बजारबाट खरीद गरेका आफ्नै कम्पनीका सम्पूर्ण शेयरको विवरण १५ दिनभित्र समितिलाई बुझाउनु पर्नेछ । त्यस्तै, एक समूहका शेयरधनीलाई अर्को समूहमा प्रतिनिधित्व नगर्न पनि समितिको निर्देशन छ । यो निर्देशनपछि बीमा कम्पनीमा प्रवर्द्धक शेयर भएकाले सर्वसाधारणका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पाउने छैनन् ।

Admin 2011-06-28

http://www.abhiyan.com.np/article-feature1_14_aashad

No comments:

Post a Comment