रमेश कुमार
असार १६, काठमाडौं । निर्जीवन बीमा गर्ने तीन कम्पनी मर्ज हुने (गाभिने) भएका छन् । शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकआपसमा गाभिने सैद्धान्तिक सहमति गरेका छन् । 'आपसमा गाभिएर बलियो संस्था बन्ने विषयमा सैद्धान्तिक सहमति भएको छ,' युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले भने ।
मर्जरको तयारीमा रहेको युनाइटेड इन्स्योरेन्समा चौधरी, र्एनई समूह लगायतको लगानी छ । शिखर यति समूह, बुद्ध एयर, एमएस ग्रूपलगायतद्वारा प्रवर्द्धित छ । त्यस्तै, पु्रडेन्सियलमा त्रिवेणी, विशाललगायतका समूहको लगानी छ ।
आन्तरिक छलफलबाट गाभिने टुङ्गो लागेका तीनओटै कम्पनीले यसका लागि गृहकार्य अघि बढाएका छन् । यसमध्ये शिखर इन्स्योरेन्सले सञ्चालक समितिबाट नै गाभिने प्रस्ताव पारित गरिसकेको स्रोतले बताएको छ । युनाइटेड र प्रुडेन्सियल भने छिट्टै सञ्चालक समितिबाट यस्तो प्रस्ताव पारित गराउने तयारीमा छन् । गाभिने विषयमा तीनै इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समितिलाई अनौपचारिक जानकारी गराइसकेका छन् ।
'उनीहरू गाभिनेबारे हामीलाई अनौपचारिक जानकारी आएको छ,' बीमा समितिका कानून महाशाखा प्रमुख तथा प्रवक्ता शेखरकुमार अर्यालले अभियानलाई भने, 'तर गाभिने स्वीकृति मागेर औपचारिक आवेदन आएको छैन ।' तीनओटै कम्पनीबाट औपचारिक आवेदन आएपछि सैद्धान्तिक स्वीकृति दिने प्रचलन रहेको अर्यालले बताए । 'तर, बीमा कम्पनी गाभिने प्रक्रियाबारे अहिलेसम्म स्पष्ट कानूनी व्यवस्था छैन,' अर्यालले भने, 'त्यही कारणले गाभिने प्रक्रिया भने रोकिँदैन ।' प्रस्तावित नयाँ बीमा विधेयकमा भने यसबारे व्यवस्था गरिएको अर्यालले बताए । सो विधेयकमाथि अहिले अर्थ मन्त्रालयमा छलफल भइरहेको र त्यो जारी हुन समय लाग्ने देखिएकाले समितिले मर्जरसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ । 'तत्काल कुनै बीमा कम्पनीहरूबाट गाभिने प्रस्ताव आएमा बाधा फुकाउन निर्देशिका जारी गर्ने योजना छ,' उनले भने ।
तीनै कम्पनीले असार मसान्तपछि मर्जर प्रक्रियालाई अघि बढाउने प्रस्ताव गरेको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे बताउँछन् । 'यो आर्थिक वर्षको हिसाबकिताब मिलान गरेपछि प्रक्रिया दु्रत गतिमा अघि बढ्छ,' उनले भने । बलियो संस्था बन्नकै लागि यी तीन कम्पनी गाभिन लागेको उनको भनाइ थियो । शिखरले यसअघि पनि सगरमाथा र प्रिमियमले मर्जरको तयारी गरे पनि त्यो सफल भएको थिएन ।
'अहिले बीमाक्षेत्रमा पनि मर्जरको आवश्यकता छ,' बीमक सङ्घका पूर्वअध्यक्षसमेत रहेका पाण्डेले भने, 'धेरै होइन, थोरै तर राम्रा कम्पनी भए बजार स्वस्थ ढङ्गबाट चल्छ ।' पाण्डेले हाल कतिपय बीमा कम्पनीलाई लगानीअनुसारको प्रतिफल पाउन गाह्रो पर्दै गएको जानकारी दिए । 'बजारबाट उठाएको प्रिमियमले पूँजीअनुसारको प्रतिफल आउन पनि गाह्रो परेको छ,' उनले भने, 'अस्वस्थ प्रतिस्पर्धा र दक्ष जनशक्तिको पनि अभाव छ ।' पूँजी वृद्धि गर्नुपर्ने स्थिति सृजना हुँदै गएकाले पनि मर्जर प्राथमिकतामा परेको समितिका प्रवक्ता अर्याल बताउँछन् ।
समितिले जीवन, निर्जीवन र पुनर्बीमा सबै कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने तयारी गरेको छ । प्रस्तावित विधेयकमा जीवन बीमा कम्पनीको रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको रू. १ अर्ब चुक्ता पूँजी पुर्याउन प्रस्ताव गरिएको छ । हाल जीवन बीमा कम्पनीको रू. २५ करोड र निर्जीवन बीमा कम्पनीको रू. १० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । ठूलो परिमाणमा चुक्ता पूँजी वृद्धि गर्नुपरे थप लगानीका लागि मर्जरको विकल्प नहुने अर्याल बताउँछन् । 'सबैसँग त्यो परिमाणमा लगानी गर्न क्षमता हुँदैन,' अर्यालले भने । समितिले प्रस्तावित ऐन आउन समय लागे निर्देशिकामार्फत नै चुक्ता पूँजी वृद्धिका लागि तयारी गरिरहेको उनले बताए । हाल देशमा १६ निर्जीवन तथा आठ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले दुवै सेवा प्रदान गर्छ ।
Admin 2011-07-01
http://www.abhiyan.com.np/article-feature1_17_aashad
Saturday, July 2, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment