Friday, May 27, 2011

एकैपटक पुँजी बढाउन असम्भव : बिमा कम्पनी

काठमाडौ, जेष्ठ १२ -
बिमा कम्पनीहरूले ऐनमा प्रस्ताव गरिएको चुक्ता पुँजी एकैपटक पुर्‍याउन नसकिने भएकाले पुरनावलोकन हुनुपर्ने माग गरेका छन् । पारित हुने क्रममा रहेको ऐन कानुन मन्त्रालयमा पुगेपछि बिमा समितिले कम्पनीलाई पुँजी वृद्धि योजना मागेको छ ।

प्रस्तावित ऐनले जीवन बिमा कम्पनीका लागि २ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल यो क्रमशः २५ करोड र १० करोड रुपैयाँ छ ।

बिमा कम्पनीका सञ्चालकले केही समयअघि अर्थमन्त्री भरत मोहन अधिकारीलाई भेटेर ऐनमा सुधार गरिनुपर्ने बुँदाबारे जानकारी गराएका थिए । प्रस्तावित पुँजीलाई नै निरन्तरता दिने सोचमा रहे पनि बिमा समितिले कम्पनीहरूलाई जेठको पहिलो साता सुझाव मागेको थियो ।

९ मध्ये सात जीवन बिमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । बिमा संस्थानले सरकारी नीतिअनुरूप वृद्धि गर्छ भने मेट लाइफ एलिको विदेशी कम्पनीको शाखा मात्र भएकाले यसले चुक्ता पुँजीको व्यवस्था गरेको हुँदैन । १७ निर्जीवन कम्पनीमा पनि १५ वटाले मात्र चुक्ता पुँजीको व्यवस्था गर्नु पर्छ । दुई विदेशी कम्पनीको शाखाका रूपमा काम गरिरहेका बिमा कम्पनी हुन् ।

'राष्ट्र बैंकको नीति हेर्दा समान्यतया एकपटकमा दोब्बर मात्र वृद्धि गर्न लगाउने गरिन्छ,' बिमक संघका अध्यक्ष रमेशकुमार भट्टराईले भने, 'प्रस्तावितमा जस्तै ठूलो अन्तरले वृद्धि गर्न बिमा कम्पनी सक्ष्ाम छैनन् ।' दोब्बरसम्म मात्र वृद्धि र निश्चित समय सीमा तोकिए बिमा कम्पनीलाई राहत हुने उनले बताए ।

हाल एकमुष्ट ७ जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ छ । १५ निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी जोड्दा १ अर्ब ५० करोड रुपैयाँ पुग्छ ।

बिमा कम्पनीहरू एकै पटक ठूलो मात्रामा पुँजी वृद्धि गर्न नसकिने कुरामा सहमत भए पनि प्रकृयाबारे टुंगो नलागिसकेको बिमक संघमा जीवन बिमा कम्पनीका तर्फबाट उपाध्यक्ष मनोजकुमार भट्टराईले बताए । 'अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी पुँजी वृद्धि गरिनुपर्छ भन्ने धारणा छ,' उनले भने, 'यसबारे छलफल भए पनि निष्कर्षमा पुगिएको छैन ।'

संघमा निर्जीवन बिमा कम्पनीका तर्फबाट उपाध्यक्ष केवलकृष्ण श्रेष्ठ बजारको आवश्यकताअनुसार मात्र पुँजी वृद्धि गरिनुपर्ने बताउँछन् । 'हामी सबैको चासो बजारअनुसारको काम हुनुपर्‍यो भन्ने हो,' उनले भने । पुँजी जुटाउन खुला गरिएको वाणिज्य बैंकको हकप्रद सेयर सबै बिक्री नभइरहेको अवस्थामा एकैपटक ठूलो मात्रामा बिमा कम्पनीको पुँजी बढाइन नहुने उनी बताउँछन् । 'तरलता अभाव, आर्थिक संकटलगायतले बजारलाई असर गरेको छ,' उनले भने ।

हालको पुँजीको दोब्बर वा कारोबारअनुसार पुँजी वृद्धि गर्दै लैजान सकिने विकल्पबारे कम्पनीले छलफल गरेका छन् । सबै कम्पनीको अवस्था एकै नभएकाले कारोबारको मात्राअनुसार पुँजी वृद्धि गर्न सकिने तर्क उनीहरूको छ । ऐनमा नै पुँजी तोक्नभन्दा समयअनुसार वृद्धि गर्दै लैजाने नीति उपयुक्त हुने व्यवसायी बताउँछन् ।

जीवन र निर्जीवन बिमा कम्पनीहरूले बिहीबार छुट्टाछुट्टै स्थानमा बैठक बसी चुक्ता पुँजी दोब्बर मात्र बढाउन सुझाव दिएका छन् । सबै जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र एक सञ्चालक नेपाल लाइफ इन्स्योरेन्समा बैठक बसेका थिए । निर्जीवन बिमा कम्पनीका

प्रतिनिधि भने शिखर इन्स्योरेन्स कम्पनीमा बैठक बसी उक्त छलफल गरेका हुन् ।





प्रकाशित मिति: २०६८ जेष्ठ १३ ०९:३६

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=243515

No comments:

Post a Comment