Sunday, May 22, 2011

संविधानको नाम ‘नेपालको संविधान’

संविधान अघि शान्ति प्रक्रिया पूरा गरिने



काठमाडौं, ५ जेठ

नयाँ बन्ने संविधानको नाम ‘नेपालको संविधान’ रहने भएको छ । संविधानसभाका लागि ८ दिनमात्र बाँकी रहँदा उपसमितिले यस्तो सहमति जुटाएको हो । संविधान निर्माणका क्रममा देखिएका विवादहरूको अन्त्यका लागि गठन भएको संवैधानिक समिति अन्तर्गतको विवाद उपसमितिको बिहीबार बसेको बैठकमा संविधानको नामसहित ६ वटा बुँदामा सहमति कायम भएको छ ।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित समितिका सबै सदस्य उपस्थित बैठकमा नयाँ संविधानको नाम ‘नेपालको संविधान’ मात्र राख्ने सहमति भएको हो । यसअघि एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेसहित अन्य दलले संविधानको विभिन्न नाम प्रस्ताव गरेका थिए ।

दलहरूले प्रस्ताव गरेको संविधानका नामहरूमा नेपालको संविधान २०६७, समाजवाद उन्मुख गणतन्त्र नेपालको संविधान,२०६७, संघीय गणतन्त्र नेपालको संविधान २०६७, जनताको संघीय गणतन्त्र नेपालको संविधान २०६७, गणतन्त्र नेपालको संविधान २०६७ रहेका थिए । तर बिहीबार बसेको बैठकमा संविधानको नामको अघि या पछि केही पनि उल्लेख गर्नुनपर्ने गरी सहमति कायम भएको हो ।

त्यस्तै उपसमितिको बैठकमा शान्ति प्रक्रिया पूरा भएपछि संविधान जारी गर्ने विषयमा पनि दलहरूबीच सहमति कायम भएको छ । पहिले माओवादीले शान्तिप्रक्रिया र संविधान निर्माण सँगसँगै हुनुपर्ने अडानसहित नयाँ संविधानमा जनमुक्ति सेनालाई कहीँ न कहीँ उल्लेख गरिनुपर्ने अडान राख्दै आएको थियो । शिविरमा रहेका लडाकुहरूको पुनःस्थापन, व्यवस्थापन र समायोजन लगायतको शान्तिप्रक्रियाका कार्यहरू टुंगो लागेपछि मात्र नयाँ संविधान जारी हुने भएकाले सोसम्बन्धी विषय नयाँ संविधानमा राख्न नपर्ने हुँदा राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनमा रहेको यससम्बन्धी टुंगो लाग्न बाँकी विषयलाई विवादको सूचीबाट हटाइएको उपसमितिका सदस्य अग्नि खरेलले जानकारी दिए ।

No comments:

Post a Comment