Monday, May 16, 2011

नाम छलेर टिकट लिएकाले बिमामा समस्या

तारा एयर दुर्घटना

काठमाडौं, ३१ वैशाख

तारा एयर दुर्घटनामा परी मृत्यु हुने भुटानी नागरिकका आफन्तले हालसम्म पनि बिमा रकम पाउन सकेका छैनन् । भुटानीहरुले नक्कली (नेपाली) नामबाट हवाई टिकट बनाएकाले उनीहरुले बिमा रकम पाउने/नपाउनेमा विवाद छ । यसअघि तारा एयरले मृतक यात्रु सबैका नाममा बिमा रकम उपलब्ध गराइने बताएको थियो । हवाईविज्ञ भने नाम छलीकै कारण मृतकका आफन्तले अहिलेसम्म बिमा रकम नपाएको बताउँछन् ।

“बिमा रकम पाउँछन्, प्रक्रियामा छ,” तारा एयरका कार्यकारी निर्देशक विजय श्रेष्ठले भने, “मृतक व्यक्ति जोसुकै भए पनि टिकट नामभन्दा पनि सिटको आधार बिमा पाइन्छ ।”

टिकटको पछाडि भागमा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर र ब्यागेजका हकमा प्रतिकिलो २० डलर बिमा उल्लेख गरिएको हुन्छ । नागरिक उड्डयन प्राधिकरण नियमावलीअनुसार विमान कम्पनीले अधिकतम ६ करोड डलरसम्म बिमा निर्धारण गर्न सक्छन्, जसमा विमान, चालक दल, यात्रु, पर्यावरणलगायत पर्छन् ।

तारा एयरको नेपालका लागि बिमा एजेन्ट हिमालयन जर्नल इन्स्योरेन्स कम्पनीका प्रबन्ध निर्देशक महेन्द्र श्रेष्ठले भने, “यो विषय प्रक्रियामै छ, अरु नभनौं । हवाई यात्रुले नाम छलेर यात्रा गरेका कारण अवैधानिक देखिए पनि बिमा कम्पनी र विमान कम्पनीबीचको आपसी सहमतिले यो विषय टुंगो लाग्छ ।”

तारा एयरले बिमाको सम्पूर्ण कार्य हिमालयनमार्फत गर्छ । प्रमुख बिमा कम्पनी विदेशी भएका कारण बिमा पाउने÷नपाउने कुरामा विवाद छ ।

बिमा समितिका अध्यक्ष फत्तेबहादुर केसी भने नक्कली नाम प्रयोग भई यात्रा गरिएकाले सैद्धान्तिक तथा कानुनी रूपमा बिमा पाउन नसक्ने दाबी गर्छन् । “तर, प्रमुख बिमा कम्पनी र विमान कम्पनीबीच समझदारी भए पाइन सक्छ,” उनले भने ।

पाँच महिनाअघि लामीडाँडाबाट काठमाडौं आउने क्रममा ओखलढुंगाको श्रीचौर गाविसअन्तर्गत पालुंगेडाँडामा ठोक्किएर तारा एयरको विमान दुर्घटना भएको थियो । दुर्घटनामा तीन जना चालक दलका सदस्य, १८ जना भुटानी र एक अमेरिकी नागरिक गरी २२ जनाको मृत्यु भएको थियो ।


दुईटै समिति अलपत्र

तारा एयर दुर्घटनाका मृतकको बिमाबारे अध्ययन गर्न सरकारद्वारा गठित समिति अलपत्र परेको छ । बिमा दिने÷नदिने विषयमा देखिएको विवादका कारण समितिले आफ्नो प्रतिवेदनसमेत बुझाउन सकेको छैन ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालको संयोजकत्वमा गठित समितिको समयावधि १५ दिन तोकिएको थियो । “बिमा पाउने÷नपाउने विषय नै विवादित भएकाले हामीले समयमै प्रतिवेदन बुझाउन सकेका छैनौं,” अर्यालले भने । बिमा रकमको विषयलाई लिएर आगामी साता हिमालयन जर्नल इन्स्यारेन्सका उच्च अधिकारी नेपाल आउने जानकारी उनले दिए ।

विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ समितिसमेत अहिले अलपत्र अवस्थामा छ । छानबिनका क्रममा लाग्ने खर्च सरकार वा विमान कम्पनी कसले बेहोर्ने भन्नेमा सहमति नहुँदा समिति निष्क्रिय छ ।

http://karobardaily.com/news/7257

No comments:

Post a Comment