Monday, October 24, 2011

लघु बिमा योजना सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक ६ -
सानो प्रकृतिको जोखिम कम गर्न कात्तिक १५ बाट छ प्रकारको लघु बिमा सेवा सुरु हुने भएको छ । बिमा समितिले निर्देशन जारी गरेर पशु, स्वास्थ्य, दुर्घटना, स्वरोजगार, सावधिक जीवन र म्यादी जीवन बिमा लेख बिक्री गर्न खुला गर्ने भएको हो ।

लघु बिमा अन्यभन्दा कम रकम र समयका लागि गरिने ग्रामीण क्षेत्र लक्षित योजना हो । यो अधिकतम १ लाख रुपैयाँसम्मको हुन सक्ने प्रस्ताव गरिएको छ । 'पहिलो पटक छ प्रकारका लघु बिमा सुरु गर्न लागेका हौं,' समितिका निर्देशक अनिलराज भट्टराईले भने, 'आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि विस्तार हुँदै जाने छ ।'

समितिले कात्तिक १५ पछि जीवन र निर्जीवन दुवै बिमा कम्पनीलाई यी योजना बिक्री गर्न अनुमति दिएको हो । कम्पनी आफैंले बिक्री नगरे यस्ता योजनालाई बाध्यकारी बनाउन सकिने समितिले जनाएको छ ।

यीमध्ये केही योजना विभिन्न संघ/संस्थाले सञ्चालनमा ल्याए पनि कानुनी रूपमा लघु बिमा कार्यक्रम भने सुरु भएको ैछैन । सहकारी, लघुवित्त कम्पनी, सामुदायिक समूह लगायतलाई एजेन्टका रूपमा राखेर यी योजना बिक्री गर्न सकिने व्यवस्था समितिले बनाएको छ । योजना बिक्री गर्दा १० देखि १२ प्रतिशतसम्मको कमिसन यस्ता एजेन्टलाई छुट्याइएको छ ।

समितिले ३ महिनादेखि १ वर्ष समयका लागि पशु बिमा योजना बनाएको छ । जसमा दूधका लागि पालिने गाईभैंसीको १ लाख रुपैयाँसम्मको बिमा गर्न सकिने छ । दुर्घटना, रोग, विपत्ति लगायतबाट पशुको मृत्यु भएमा क्षतिपूर्ति पाइने छ ।

एक वर्ष अवधिको स्वास्थ्य बिमा योजनामा रोग वा घाउचोटबाट औषधि उपचारमा हुने खर्च उपलब्ध हुने छ । यस्तो बिमा ५० हजार रुपैयाँसम्मको गर्न पाइने छ । तीन महिनादेखि १ वर्षसम्मका लागि गर्न सकिने दुर्घटना बिमा १ लाख रुपैयाँसम्मको गर्न पाइने छ । आफैं उद्यम गर्नेका लागि स्वरोजगार योजना लघु बिमा अन्तर्गत राखिएको छ । यसमा स्वरोजगार पेसामा प्रयोग हुने विभिन्न सरसामान तथा ऋणीको व्यक्तिगत दुर्घटना हुँदा कम्पनीले जोखिम बेहोर्ने छ । आगो, भूकम्प, बाढी लगायतको जोखिम लिने यो योजना १ लाख रुपैयाँसम्मको गर्न पाइने समितिले जनाएको छ । आफैंले रोजेको अवधिका लागि सावधिक र म्यादी जीवन बिमा गर्न सकिने अर्को योजना छ । सावधिक जीवन बिमा ५० हजार रुपैयाँसम्मको र म्यादी १ लाख रुपैयाँसम्म तोकिएको छ । बिमा अवधिभित्रै व्यक्तिको मृत्यु भएमा म्यादी जीवन बिमामा दाबी गर्न पाइन्छ । सावधिकमा भने अवधि समाप्त भएपछि पनि रकम फिर्ता हुन्छ ।

'विभिन्न लघु वित्त कम्पनीसँग मिलेर यस्ता योजना बिक्री गर्ने तयारी भएको हो,' समितिका अध्यक्ष फत्तबहादुर केसीले भने,' यो थोरै नाफामा सबैले सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने अवसर हो ।'

मुलुकभर करिब ३० लाख परिवारको आय न्यून रहेकाले लघु बिमा कार्यक्रमको ठूलो सम्भावना रहेको विज्ञ हरिहरदेव पन्तले बताए । 'बजार मात्र ठूलो नभएर सामाजिक सुरक्षाका कारण पनि कम्पनी त्यहाँ पुग्न जरुरी छ,' उनले भने ।

विभिन्न लघु वित्त कम्पनीले समूह बनाएर काम गर्ने भएकाले बजारसम्म पुग्न बिमा कम्पनीलाई सहज हुने उनले बताए । ग्रामीण क्षेत्र केन्दि्रत भएकाले सेवा छिटो दिनुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति: २०६८ कार्तिक ७ ०९:०९

http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=254880

No comments:

Post a Comment