Tuesday, October 18, 2011

वैदेशिक रोजगार बीमामा एकरूपताको निर्देशन

Posted on: Oct 18, 2011असोज ३०, काठमाडौं (अस)। बीमा कम्पनीहरूले मनोमानी ढङ्गले वैदेशिक रोजगार बीमालेख विक्री गरेको पाएपछि बीमा समितिले सो बीमामा एकरूपताका लागि निर्देशन जारी गरेको छ । वैदेशिक रोजगार बीमालेख विक्री गरिरहेका कम्पनीहरूले एउटै बीमालेखमा पनि आ-आफ्नै हिसाबले बीमाशुल्क दर, सुविधा आदि निर्धारण गरेको पाइएको र यसबाट बीमित ठगिएको भन्ने विवाद आएपछि एकरूपताको निर्देशन जारी गरिएको हो,' समितिका कानून तथा नियमन महाशाखा प्रमुख शेखरकुमार अर्यालले भने । समितिले कात्तिक १ गतेबाट लागू हुने गरी असोज ३० गते नौओटै जीवन बीमा कम्पनीहरूलाई निर्देशन जारी गरेको छ ।

नयाँ निर्देशनपछि वैदेशिक रोजगारी बीमाको प्रिमियम दर, सुविधा र प्रभावकारी लागूका शर्तहरू सबै कम्पनीका लागि एउटै भएको समितिले बताएको छ । साथै, अब वैदेशिक रोजगार बीमा नेपाल छाडेको दिनबाट बीमा अवधि लागू होउन्जेलसम्म स्वदेश फर्किएको अवस्थामा पनि लागू हुनेछ । यसअघि विदेशमा रहँदा दुर्घटना भएमात्र यो बीमाको दाबी गर्न पाउने प्रावधान थियो । साथै, अङ्गभङ्ग नभएसम्म यो बीमाको दाबी गर्न नपाउने अहिलेको व्यवस्था खारेज गर्दै कुनै पनि किसिमको शारीरिक क्षति भएमा बीमितले बीमाङ्क पाउनेलगायतका नयाँ सुविधा थप भएको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेको मुलुकमा जानेका लागि यो बीमालेख जारी गर्न नहुने, श्रम सम्झौतामा उल्लेख भएको अवधिभरका लागि बीमालेख जारी गर्नुपर्ने, बीमा ऐनमा उल्लेख भएभन्दा बढी कमिशन बीमा अभिकर्तालाई दिन नपाइनेलगायतका शर्त समितिले निर्देशनमा उल्लेख गरेको छ । १८ देखि ६४ वर्षसम्मको उमेरसमूहका बीमितका लागि १ देखि ५ वर्षअवधिको बीमाशुल्क दर कम्तीमा रू. १ हजार २५ देखि बढीमा रू. १० हजार तोकिएको छ । यससँगै बीमा कम्पनीहरूले अहिले जारी गर्दै आएका सबै वैदेशिक रोजगार बीमालेख समितिले खारेज गरेको छ ।

वैदेशिक रोजगार बीमा सबै जीवन बीमा कम्पनीहरूले जारी गर्न पाउने भए पनि हाल यो पाँच कम्पनीले विक्री गरिरहेका छन् । तीमध्ये एशियन लाइफ इन्स्योरेन्सले भने केही महीनायता यो बीमालेख विक्री स्थगित गरेको छ ।

वैदेशिक रोजगार बीमामा थपिएका सुविधा
१. बीमा अवधिभित्र स्वदेशमा दुर्घटना भएमा समेत दाबी पाइने ।
२. विदेशमा दुर्घटनामा परी स्वदेशमा आएको ६ महीनाभित्र बीमितको मृत्यु भएमा पनि दाबी पाइने ।
३. अङ्गभङ्ग भई ३६५ दिनभित्र निको नभए अङ्गभङ्गअन्तर्गत नै भुक्तानी पाइने ।
४. विदेशमा मृत्यु भएको अवस्थामा शव ढुवानी खर्च रू. १ लाखसम्म पाइने ।
५. दाह संस्कारबापत रू. १५ हजार पाइने ।
६. अङ्गभङ्ग नभई आंशिक शारीरिक क्षतिमा समेत दाबी पाइने ।
७. मृत्युको कारण आत्महत्या भएमा समेत दाबी पाइने ।
८. अङ्गभङ्ग भएमा क्षतिबापत प्रतिमहीना बीमाङ्कको २ प्रतिशत क्षतिपूर्ति पाइने ।
९. प्रत्येक बीमितले छुट्टै बीमालेख पाउने ।

यससहित नेशनल लाइफ, नेपाल लाइफ, मेट लाइफ एलिको र प्राइम लाइफले वैदेशिक रोजगार बीमालेख विक्री गर्दै आएका छन् । अर्यालका अनुसार, समितिले दशैंअघि गरेको अनुगमनबाट पाँचऔटै बीमा कम्पनीले वैदेशिक रोजगार बीमामा फरकफरक शुल्कदर, सुविधा, कमिशन दर आदि दिँदै आएका थिए ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई गत महीना संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर फर्किंदा कतारको दोहामा वैदेशिक रोजगारीमा गएकाहरूले उनीसमक्ष यसबारे गुनासो गरेका थिए । वैदेशिक रोजगार बीमाशुल्क दर कम्पनीअनुसार फरक भएको, एकै प्रकारको बीमालेखमा पनि कम्पनीले फरकफरक सुविधा दिने गरेकोलगायतका गुनासा रोजगारीमा गएकाले व्यक्त गरेका थिए । त्यसपछि प्रमले आफ्नै सक्रियतामा सरोकारवालाहरूसँग छलफल अघि बढाएर वैदेशिक रोजगार बीमामा एकरूपता लागू गर्न समितिलाई निर्देशन दिएका हुन् । पहिलोपटक प्रधानमन्त्री कार्यालय र त्यसपछि श्रम मन्त्रालयमा वैदेशिक रोजगार बीमामा एकरूपताबारे प्रमले छलफल गरेका थिए ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड तथा बीमा समितिका पदाधिकारीहरू र वैदेशिक रोजगार व्यवसायीहरूबीच पनि गत आइतवार र सोमवार त्रिपक्षीय छलफल भएको थियो । सोपछि सबै बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखको सुविधा, बीमाशुल्क दर र बीमालेखका अन्य पक्ष एकनासको हुने गरी नयाँ शर्त र सुविधासहितको निर्देशन जारी गरेको अर्यालले जानकारी दिए । समितिले उक्त बीमालेखमा विभिन्न सुविधा पनि थप गरेको छ ।

http://www.abhiyan.com.np/newspage-2501-वैदेशिक%20रोजगार%20बीमामा%20एकरूपताको%20निर्

No comments:

Post a Comment