Monday, August 16, 2010

बिमाप्रति बढ्दैछ सर्वसाधारणको आकर्षण

काठमाडौँ, साउन ३० गते । इतिहास लामै भए पनि नेपालको बिमा व्यवसाय पछिल्ला वर्षहरूमा केही फस्टाउँदै गएको छ । गत आर्थिक वर्ष २०६६/०६७ मा देशभरका विभिन्न बिमा कम्पनीमार्फत १५ अर्ब ४० करोड रुपियाँ बिमा शुल्क उठेको बिमा समितिले जनाएको छ । समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बिमाबाट आठ अर्ब ९० करोड रुपियाँ र निर्जीवन बिमाबाट छ अर्ब ५० करोड रुपियाँ शुल्क उठेको हो । नेपालमा निजी क्षेत्रका १६ वटा कम्पनीले निर्जर्र्ीवन, आठवटा कम्पनीले जीवन र राष्ट्रिय बिमा संस्थानले जीवन तथा निर्जीवन दुवै किसिमको बिमा गर्ने गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०६५/०६६ मा देशभरका विभिन्न २५ बिमा कम्पनीले निर्जीवनमार्फत छ अर्ब ५० करोड रुपियाँ र जीवन बिमामार्फत चार अर्ब ४० करोड गरी १० अर्ब ९० करोड रुपियाँ शुल्क उठाएका थिए ।

नेपालमा पहिलोपटक बिमा व्यवसाय निजी क्षेत्रअन्तर्गतको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले २००४ साल असोज ८ गतेबाट प्रारम्भ गरेको इतिहास पाइन्छ । त्यतिखेर निर्जीवन बिमाबाट मात्र बिमा व्यवसाय सुरु भएको थियो । बिमा ऐन, २०४९ ले दिएको अधिकार प्रयोग गरी बिमा समितिले बिमक दर्ताको लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

बिमकका सञ्चालकमध्ये कम्तीमा एकतिहाइ सञ्चालक स्नातक वा सोसरहको परीक्षा उत्तीर्ण भएको र कम्तीमा एकतिहाइ सञ्चालक उद्योग, व्यापार वा पेसागत सेवामा संस्थापक वा सञ्चालक रही कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्नेछ । बिमा समितिका अध्यक्ष डा फत्तबहादुर केसीले मानिसमा जीवन र वस्तुप्रतिको जोखिमका सन्र्दभमा चेतना वृद्धि हुँदै गएकाले प्रत्येक वर्ष बिमाको कारोबार अङ्क बढ्ने क्रममा रहेको जानकारी दिनुभयो ।

जनचेतनाको कमीका कारण बिमाप्रति अझै सकारात्मक दृष्टिकोण नपुग्नुले पनि सरकारको प्राथमिकताभित्र र सर्वसाधारणको पहुँचभित्र बिमा पर्न नसकेको बताउँदै केसीले संस्थागत सुशासनका लागि पारदर्शिताको अभावले गर्दा पनि विगतमा आवश्यक अनुगमन गर्न कठिन बताउनुभयो । राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०६६/०६७ मा एक अर्ब ५४ करोड २७ लाख ५१ हजार ६४८ को कारोबार गरेको छ । देशभर भएका विभिन्न २५ वटा बिमा कम्पनीमध्ये १६ वटा कम्पनीले निर्जीवन बिमा र आठवटा कम्पनीले जीवन बिमा गर्ने गरेका छन् भने बिमा संस्थान एक मात्र संस्था हो जसले दुवै किसिमको बिमा गर्ने गरेको छ ।

संस्थानले अघिल्लो आर्थिक वर्ष २०६५/६६ मा जीवन बिमाअन्तर्गत रू. एक अर्ब २६ लाख ७० हजार २१ र निर्जीवनअन्तर्गत रू. १९ करोड आठ लाख ५९ हजार ८६५ गरी कुल रू. एक अर्ब १९ करोड ३५ लाख २९ हजार ८८६ को कारोबार गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष २०६५/६६ को तुलनामा पछिल्लो आर्थिक वर्ष २०६६/६७ मा सो संस्थानले करिब रू. ३१ करोडको हारहारीमा कारोबार वृद्धि गरेको हो ।

सो संस्थानका प्रशासक विनोद अर्यालले बिमाको कारोबार केही मात्रामा वृद्धि भएको भए पनि ग्रामीण भेगसम्म बिमा विस्तार हुन नसकेकाले धेरै जनताको पहुँचमा बिमा पुग्न नसकेको बताउनुभयो । यसै स्थितिलाई ध्यानमा राखी संस्थानले ग्रामीण क्षेत्रलाई लक्ष्य गरेर विभिन्न कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा, बाली बिमा र पशु बिमाको योजनालाई सक्रिय बनाउन लागेको उहाँले बताउनुभयो ।

राष्ट्रिय बिमा संस्थानले २०२४ साल फागुन ११ गतेदेखि बिमा व्यवसाय सुरु गरेकोमा अहिले देशका करिब ७५ वटा जति संस्थागत ग्राहक व्यवसाय विस्तार गरी लगभग ७५ हजारलाई जीवन बिमा सेवा प्रदान गरेको छ । अन्य क्षेत्रमा निर्जीवन बिमा सेवा उपलब्ध गराई वाषिर्क करिब ३५ करोड रुपियाँ पि्रमियम आर्जन गर्न सफल रहेको अर्यालले बताउनुभयो ।

अर्थशास्त्री राधेश्याम मालाकारले मानिसको सामान्य जनजीवनमा यान्त्रीकरण र जटिलताको प्रवेश तथा वाणिज्य एवं औद्योगिक गतिविधिलाई सक्रिय बनाउनका निमित्त ठूलो पुँजी लगानीको खाँचो पर्ने भएकाले देशभर छरिएर रहेको पुँजी एकत्रित गरी पुँजी सङ्कलनका लागि बिमा कम्पनीको भूमिका महìवपूर्ण हुने बताउनुभयो ।

औद्योगिक क्षेत्रमा हुनसक्ने दुर्घटना एवं जोखिम, प्राकृतिक प्रकोपबाट हुन जाने सम्भावित भौतिक क्षतिको सुरक्षणका लागि बिमाको आवश्यकता मानिसहरूले बिस्तारै बुझ्न थालेका छन् । हिजोआज समाचार माध्यमहरूमा दिनहुँ विभिन्न दुर्घटना र मृत्युका समाचारले स्थान पाउने गरेकाले पनि बिमा व्यवसायप्रति सर्वसाधारणको आकर्षण बढेको मालाकार बताउनुहुन्छ । रासस

Source: http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=38504&cat_id=19

No comments:

Post a Comment