Friday, September 30, 2011

चुक्ता पूँजी बढाउन बीमा कम्पनीलाई निर्देशन

मधुकर दहाल
असोज ११, काठमाडौं । बीमा समितिले चुक्ता पूँजी बढाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिको पछिल्लो निर्देशनअनुसार, २०७० असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले चुक्ता पूँजी रू. ५० करोड र निर्जीवनले रू. २५ करोड पुर्याउनु पर्नेछ । हाल निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा रू. १२ करोड र जीवनको रू. २५ करोड हुनुपर्ने बीमा ऐनमा व्यवस्था छ । बीमा कम्पनीहरूलाई चुक्ता पूँजी बढाउने निर्देशन मङ्गलवार जारी गरिएको समितिका प्रवक्ता शेखरकुमार अर्यालले जानकारी दिए ।

२०७० सम्ममा तोकिएको चुक्ता पूँजी नपुर्याएसम्म बीमा कम्पनीहरूलाई नगद लाभांश वितरण गर्न पनि निर्देशनले रोक लगाएको छ । 'कम्पनीहरूले चुक्ता पूँजी तोकिएबमोजिम नपुर्याउन्जेल केवल बोनस शेयर र अग्राधिकार शेयर मात्र बाँड्न पाउने व्यवस्था गरिएको छ,' समितिका कानून महाशाखा प्रमुखसमेत रहेका अर्यालले भने । पूँजी बढाउन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको उनले बताए ।

बीमकहरूको जोखिम वहन तथा दायित्व भुक्तानी क्षमता बलियो बनाउन र बीमितको सुरक्षाका लागि पनि बीमा कम्पनीहरूले चुक्ता पूँजी बढाउन आवश्यक रहेको समितिले औंल्याएको छ । त्यस्तै, बीमा कम्पनीहरूलाई प्रस्तावित बीमा ऐन आएपछि त्यसमा भएका प्रावधानहरू लागू गर्न सजिलो होस् भनेर पनि अहिल्यैदेखि पूँजी बढाउन भनिएको समितिले बताएको छ । प्रस्तावित नयाँ बीमा ऐनबाट बीमा कम्पनीहरूको चुक्ता पूँजी जीवन र निर्जीवनका लागि क्रमश: रू. २ अर्ब र १ अर्ब हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

अर्याल भन्छन्, 'पूँजी धेरै भएपछि बीमकको जोखिम वहन क्षमता पनि अधिक हुने भएकाले कम्पनीहरूले अहिलेको भन्दा थोरै पुनर्बीमा गराउने र यसले पुनर्बीमाका लागि विदेशिने रकम पनि कम हुनेछ ।'

त्यस्तै, कम्पनीहरूको पूँजीअनुसार जोखिम वहन क्षमताका आधारमा बीमा कारोबार गर्न पाउने रकमको सीमा पनि फराकिलो हुनेछ । संसारका अधिकांश देशमा बीमा कम्पनीलाई चुक्ता पूँजीको आकारका आधारमा कति रकमसम्मको बीमा व्यवसाय गर्न दिने भन्ने स्पष्ट कानूनी व्यवस्था तथा अभ्यास छ । 'हाल नेपालमा यस्तो अभ्यास छैन, रू. १० करोड पूँजी भएकाले पनि रू. १० अर्बको पनि बीमा कारोबार गरेका छन् । तर, प्रस्तावित बीमा ऐन आएपछि यो प्रावधान नेपालमा पनि लागू हुन्छ,' अर्यालले भने, 'त्यसैले कम्पनीहरूलाई ऐन आउनुअघि नै त्यसका लागि तयार पार्न पूँजी बढाउने निर्देशन दिएका हौं ।'

बीमा समितिले पछिल्लोपटक जीवन व्यवसाय सञ्चालनको अनुमति दिएका एशियन, सूर्या, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीहरूको चुक्ता पूँजी अहिले नै रू. ५० करोड छ । उनीहरूलाई शुरूमै चुक्ता पूँजी रू. ५० करोड भएमात्र सञ्चालन अनुमति दिने भनिएकाले सो सीमा पुर्याएर व्यवसाय शुरू गरेको अर्यालले बताए । यीबाहेक ४ जीवन र १६ निर्जीवन बीमा कम्पनीले पूँजी बढाउनु पर्नेछ । साथै, जीवन तथा निर्जीवन दुवै बीमा व्यवसाय गर्ने राष्ट्रिय बीमा संस्थानले भने रू. ५० करोड पूँजी पुर्याउनु पर्नेछ ।



Admin 2011-09-29

http://www.abhiyan.com.np/article-feature3_12_ashoj

No comments:

Post a Comment