Saturday, September 17, 2011

बीमा समिति 'एक्चुअरी' उत्पादनको तयारीमा

भदौ २९, काठमाडौं । बीमा व्यवसायमा विविध प्राविधिक मूल्याङ्कनका लागि नभई नहुने 'एक्चुअरी' बीमा समिति आफैले उत्पादन गर्ने भएको छ । समितिले छात्रवृत्तिमा विभिन्न देशका 'एक्चुअरियल सोसाइटी'बाट नेपाली एक्चुअरी उत्पादनको आन्तरिक गृहकार्य थालेको हो । 'यसबारे अन्तरराष्ट्रिय विशेषज्ञसँग परामर्श गरी अर्को वर्षबाट एक्चुअरी उत्पादनको काम थाल्छौं,' समितिका प्रवक्ता शेखरकुमार अर्यालले भने ।

बीमा कम्पनीहरूको दीर्घकालीन प्रिमियम दर, बोनस, प्रतिफल दर (रेट अफ रिटर्न), सम्पत्ति व्यवस्थापन, दायित्व आदि मूल्याङ्कन तथा तय गर्न एक्चुअरी आवश्यक हुन्छ । समितिका अनुसार, बीमाक्षेत्रमा उच्च प्राविधिक मानिने एक्चुअरीको व्यावसायिक कोस अहिले दुई नेपालीले अध्ययन गरिरहेका छन् । तर, यो कोस उत्तीर्ण गरेका जनशक्ति नेपालमा हाल एकजना पनि छैनन् । त्यसैले, अधिकांश नेपाली बीमा कम्पनीहरूले भारतीय एक्चुअरीबाट काम गराइरहेका छन् । 'अहिले एक्चुअरी बीमा कम्पनीहरूको मात्र नभई राज्यकै आवश्यकता भएकाले यसको विकासलाई उच्च तहबाटै टुङ्ग्याउने गरी छलफल भइरहेको छ,' अर्यालले भने ।

समितिले एक्चुअरी पढाइने जनशक्ति आफ्नै संस्थाभित्रबाट, बीमा कम्पनीहरूमा कार्यरत तथा अन्य क्षेत्रका योग्य व्यक्ति गरी तीनओटा ढाँचाबाट ल्याउन सकिने बताएको छ । यी तीन विकल्पबाट एक्चुअरी हुनका लागि योग्य व्यक्ति छनोटको जिम्मा स्थापित एक्चुअरीलाई नै दिइने समितिले बताएको छ । अर्यालले भने, 'तोकिएका क्षेत्रबाट आउने इच्छुक व्यक्तिलाई शुरूमा एक्चुअरीबाटै परीक्षा लिएर मात्र यो कोस गर्न योग्य/अयोग्य हुने खुटयाइनेछ र योग्य देखिएकालाई छात्रवृत्तिमा पढाइनेछ ।' एक्चुअरी उत्पादनका लागि हुने खर्च, छात्रवृत्तिको ढाँचा, समितिले दिन सक्ने सेवा-सुविधा, कोसको अवधि, सो पूरा गरेपछि काम गर्नुपर्ने स्थान, एक्चुअरी हुनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, विवरण आदि निर्धारण गर्न भारतीय विशेषज्ञसँग छलफल अघि बढाइएको अर्यालले जानकारी दिए । एक्चुअरी कोस गर्न लाग्ने खर्चको केही प्रतिशत सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने व्यवस्था गर्न सकिने समितिले बताएको छ ।

बीमा समितिले 'एक्चुअरियल साइन्स'का विषयवस्तुलाई सामान्यरूपमा बुझ्न सक्ने जनशक्ति तयार गर्न २०६० सालबाटै विदेशी विज्ञबाट तालीम आयोजना गर्दै आएको छ । तर, यसबाट मात्र बीमाक्षेत्रका लागि आवश्यक 'एक्चुअरियल भ्यालुएशन' तथा सोको विश्लेषण सम्भव नहुने भएकाले समिति आफैले एक्चुअरी विकासको गृहकार्य थालेको अर्यालले बताए ।

हाल नेपालमा बीमा कम्पनीहरूले हरेक वर्ष'एक्चुअरियल भ्यालुएशन' गराउन सक्ने तथा बोनस निर्धारण ३/३ वर्षमा गर्नुपर्ने कानूनी प्रावधान छ । अन्तरराष्ट्रिय मान्यताअनुसार, हरेक बीमा कम्पनीले छुट्टाछुट्टै एक्चुअरी नियुक्त गर्नुपर्ने हुन्छ । तर, हालसम्म नेपाली कम्पनीहरू 'नियुक्त' नभएर 'परामर्शदाता' एक्चुअरीको मात्र अभ्यासमा छन् ।

भारत, अष्ट्रेलिया, अमेरिकालगायत देशका 'एक्चुअरियल सोसाइटी'ले बीमा एक्चुअरी विकास गर्दै आएका छन् । यीमध्ये कुनै पनि देशको सम्बन्धित निकायबाट कोस पूरा गर्ने एक्चुअरीले विश्वव्यापी मान्यता पाउँछन् ।

Admin 2011-09-16

http://www.abhiyan.com.np/article-feature3_30_bhadra

No comments:

Post a Comment